१५ जेठ , कञ्चनपुर । सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका १३ वर्षीय सुन्दर डगौरासहित तीन बालकलाई तात्कालिन संयुक्त सुरक्षा फौजले बिहानीको झिसमिसेमै विद्रोहीको आरोपमा घरबाट लगेर बेपत्ता पारे ।
बाढी आएको सनवोरा नदीको पाँगो हिलोमा दौडाउँदै बन्दुकको कुन्दा र बुटले पिठ्युमा हिर्काउँदै लगेको दृश्य देख्नेहरुको आँखाबाट आँसु झरे पनि विरोध गरे आफू पनि कुटिने र मारिने डरले सुरक्षा फौजको विरोध गर्ने हिम्मत कसैमा भएन ।
सुन्दरसँगै सुतेका १४ वर्षीय मधु चौधरी र १३ वर्षीय प्रकाश चौधरीलाई तत्कालीन सुरक्षा फौजले हात पछाडि बाँधेर यातना दिँदै नदीको किनारै किनार उत्तरतर्फ लगेको धेरैले देखे पनि त्यसपछि ती बालबालिकाको पत्तो लाग्न सकेन ।
अभिभावक बालबालिका खोज्न सुरक्षा फौजको ब्यारेकदेखि मानव अधिकारवादीका कार्यालयसम्म पुगे तर भेटाउन सकेनन् । द्वन्द्वको अन्त्य भई नयाँ संविधान बनेको छ । लोकतान्त्रिक गणतन्त्र स्थापना भई जनताले चुनेको नयाँ सरकार बनेको छ ।
द्वन्द्वका बेला बेपत्ता भएका बालबालिकाका अभिभावक अझै बालबालिका घर फर्किने आशामा छन् । सुन्दरकी आमा सीतापतीदेवी डगौरा छोरा अझै घर फर्किने आशामा हुुनुहुन्छ ।
आँगनमै आएर आमा भनेर बोलाएझैँ लाग्छ उहाँ भन्नुहुन्छ, “सपनामा समेत बोलेको खेलेको, विद्यालय जाँदै गरेको र घरको काम गरेको देख्छु, झसङ्ग भएर निद्रा खुल्दा नदेखेपछि आँखाबाट आँसुमात्रै झर्छन् ।”
निर्दाेष छोराले के नै गरेको थियो, उसको के दोष थियो, घरको कोठामा छिमेकी केटासँग सुतेका बेला विद्रोहीको आरोप लगाएर बेपत्ता पारिएको छ सीतापतीदेवी भन्नुहुन्छ, “छोराको हत्या गरिएको हो भने प्रमाणसहित जानकारी दिनुप¥यो हैन भने बेपत्ता छोराको खोजी गरी अभिभावक जिम्मा लगाइनुप¥यो ।”
लोकतान्त्रिक गणतन्त्र आए पनि अझै न्याय पाउन सकेका छैनौँ बेपत्ता प्रकाशका दाजु राजु चौधरी जोड दिनुहुन्छ, “नयाँ सरकार गठन भएपछि निकै आशावादी छौँ, बेपत्ताको खोजीका लागि केही कार्य अगाडि बढने छन् ।”
निर्दोष बालबालिकालाई बेपत्ता बनाउने तत्कालीन सुरक्षा फौजमा संलग्नहरुलाई समेत कारवाही गरिनुपर्छ । त्यसपछि मात्रै न्याय पाउन सक्छौँ मधुका वृद्ध बाजे कल्छु डगौरा भन्नुुहन्छ, “निर्दोषलाई विद्रोहीको आरोपमा लगेर बेपत्ता गरिएको छ । छानविन गरी दोषीमाथि कारवाहीको माग गर्दै आएका छौँ अझै गर्छौं ।”
गणतन्त्र ल्याउनका लागि योगदान दिएको चर्चा गर्दै उहाँ उल्लेख गर्नुुहुन्छ, “गणतान्त्रिक सरकारले द्वन्द्वका दोषीमाथि कारवाही गरी पीडित परिवारलाई न्याय दिनेमा निकै आशावादी छौँ ।” द्वन्द्वका क्रममा बेपत्ता पारिएका, घाइते बनाइएका र शहीद बनाइएका परिवारको जीवनस्तरमा सुधार ल्याउनका लागि रोजगारी, तथा सीपमूलक कार्यमा संलग्न गराइनु पर्नेमा अर्का स्थानीय आशिष डगौरा जोड दिनुहुन्छ ।
गणतन्त्र ल्याउनका लागि जनयुद्धमा सहभागी भई एक वर्ष यातना खेप्दै कारागारमा बसेर मुक्त हुनुभएका वसन्त चौधरी दुई पार्टीको विलयपछि जनयुद्धका शहीद, घाइते र बेपत्ता परिवारको अधिकार सुनिश्चित हुनेमा आशंका व्यक्त गर्नुहुन्छ । गणतन्त्र ल्याउनमा जनयुद्धको निकै ठूलो योगदान थियो उहाँ भन्नुहुन्छ, “जनयुद्ध नभएको भए गणतन्त्र सहजै आउँदैनथ्यो ।” जनयुद्धमा शहादत प्राप्त गरेकाहरुको अस्तित्व स्वीकार्य हुने वा नहुने भन्नेमा अन्योल रहेको उहाँको भनाइ छ ।
शहीदले देखेका सपना आंशिक रुपमा मात्रै पूरा भएका छन् । जनयुद्धका मुद्दा अझै थाती रहेका छन् । सर्वहाराको मुक्ति, शोषित पीडितका अधिकार सुनिश्चित गरिनुपर्ने, गरीबको राज्य, समानता, सीमा अतिक्रमण रोक्नेजस्ता जनताका जीविकासँग सम्बन्धित मुद्दा लिएर जनयुद्धमा सहभागी भएका थियौँ ती मुद्दा अहिलेसम्म कार्यान्वयन नभएका चर्चा गर्दै चौधरी भन्नुुहुन्छ, “लोकतान्त्रिक गणतन्त्र आएपछि एक घर एक रोजगारी हुन्छ भन्थे, खै अझै विदेशमा मजदूरीका लागि जानेहरुले ज्यान गुमाउनु परेको छ । भारतीयले सीमा अतिक्रमण बढाएका छन् ।”
द्वन्द्वका क्रममा बमको छर्रा लागेर मेरै श्रीमतीले १५ वर्षदेखि पीडा संगालेर बस्नु परेको छ उहाँ भन्नुहुन्छ, “अझै उपचार पाएका छैनौँ । द्वन्द्वका घाइतेलाई उपचारको भरपर्दो व्यवस्था गरिनुपर्छ ।”
जनयुद्धका क्रममा २१ वर्षीय भाइ गुमाएका र आफूसमेत जनयुद्धमा सहभागी भई राजनीतिक कमिसार भई कार्य गर्नुभएका दानसिंह चौधरी राष्ट्रिय स्वाधीनताको मुद्दा पहिलेजस्तै रहेको बताउनुहुन्छ । पहिले नेताहरु राजाको चाकडी गर्थे उहाँ भन्नुहुन्छ, “अहिले कार्यकर्ताले नेताको चाकडी गर्नुपर्छ । योग्यता र क्षमताका आधारमा कार्यको विभाजन गरी देशलाई अगाडि बढाउने कार्य नगरिँदासम्म लोकतान्त्रिक गणतन्त्र आएको सार्थकता छैन ।”
कञ्चनपुरमा द्वन्द्वका क्रममा २४६ जना शहीद भएका र ४२ जना बेपत्ता भएका छन् । शुक्लाफाँटा नगरपालिकाबाट मात्रै सातजना बेपत्ता भएका छन् । (रासस)