२९ कार्तिक २०८१, बिहीबार

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछ : प्रम ओली


KP Oli

१३ जेठ, काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा र सम्मानको प्रत्याभूति दिने ढंगबाट काम गरिरहेको बताउनुभएको छ ।

सरकारको आव २०७५/७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सरकारी संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गरी भ्रष्टाचार, तस्करी र कालाबजारी अन्त्य गर्ने दृढता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “भ्रष्टाचार नियन्त्रण र उन्मूलन गरिन्छ, वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण, कर छल्ने र अनुचित कार्यको अन्त्य गरिनेछ । कर्मचारी प्रशासन ठीक ढंगले अघि बढाइने छ । प्रशासनलाई चुस्तदुरुस्त बनाउने नीति लिइनेछ ।

“सरकारको नीति तथा कार्यक्रम सही छ, अग्रगामी छ, देशका समग्र विषयलाई समेटेको छ, विकास र समृद्धिका विषयलाई समेटेको छ, नेपाली जनताको चाहना समेटिएको छ, पूरा गर्ने स्पष्ट बाटाहरु देखाएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले अब प्रतिपक्षलाई राम्रो कामलाई राम्रो तथा नराम्रो कामलाई नराम्रो भन्न आग्रह गर्दै सरकार प्रतिपक्षसँग एक भएर अघि बढ्न तयार रहेको बताउनुभयो ।

“देशलाई अहिलेको आर्थिक स्थितिको विन्दुबाट अघि बढाउनुपर्छ । नेपाल सधैँ गरीब र पछि रहिरहन सक्दैन, अब नेपाललाई तेस्रो विश्वबाट पहिलो विश्वमा पु¥याउने नीति तथा कार्यक्रमले उद्देश्य लिएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । मुलुकलाई सम्पन्न गराउने समृद्धि र विकासमा केन्द्रित नीति तथा सुखी नेपालीको राष्ट्रिय आकांक्षा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिको लक्ष्य प्राप्तिका लागि कुन बाटोबाट जान्छौँ भन्ने स्पष्ट रहेको बताउनुभयो ।

देशको सुरक्षा, सम्मान, हित र पूर्वाधारलगायतका आधारबाट जनताबाट जनतालाई सुख र समृद्धि तुल्याउने नयाँ राजनीतिक प्रणालीको अभ्यास भइरहेको बताउँदै उहाँले कृषिको आधुनिकीकरण, व्यावसायिकीकरण, व्यापक रोजगारी सिर्जना, उत्पादन र रोजगारी, राष्ट्रिय र आत्मनिर्भर अर्थतन्त्रमा जोड दिने र व्यापार घाटालाई सन्तुलनमा ल्याउने कुरा नीति र कार्यक्रम प्रस्तुत भएको बताउनुभयो ।

“कोशी, कर्णाली र गण्डकमा पानी जहाजको माध्यमबाट समुद्रसम्म जान्छौँ, पानीजहाजबाट सामान ढुवानी हुनेछ । रेलमार्गलाई काठमाडौँ, केरुड र लुम्बिनीसँग जोड्न अध्ययन भइरहेको छ, तीन वर्षभित्र काठमाडौँमा मेट्रो चल्छ, यो योजनाविहीन ढंगले भनेको होइन”, उहाँले भन्नुभयो ।

विराटनगर र नेपालगञ्ज विन्दुबाट अन्तर्राष्ट्रिय जहाज अवतरणका लागि हवाइजहाजले प्रवेश पाउने, अप्टिकल फाइबर ओछ्याउने र अर्काे वर्ष विद्युत्भार कटौती अन्त्य गर्ने ढंगबाट काम भइरहेको बताउँदै उहाँले उत्पादित विद्युत् प्रसारण लाइनको व्यवस्थापन गरेर आवश्यकतानुसार व्यवस्थापन गरिनेछ भन्नुभयो ।

सबैखाले एकाधिकारलाई अन्त्य गरिने दृढता उहाँले व्यक्त गर्नुभयो । जुनसुकै वंशज नेपाली नागरिक सन्तानले नागरिकताको प्रमाणपत्र प्राप्त गर्न कुनै व्यवधान नहुने बताउँदै उहाँले समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुने उहाँले स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “संविधान संशोधन गर्न सकिने दस्तावेज भएकाले आवश्यकता र औचित्यका आधारमा संशोधन हुनसक्छ । यससम्बन्धी समस्या समाधार गर्न सरकार तयार छ ।”

प्रधानमन्त्री ओलीले सामाजिक विविधतालाई सांस्कृतिक सम्पन्नताको विषय बनाउनुपर्छ र सामाजिक सद्भावमा आधारित राष्ट्रिय एकता हुनुपर्छ भन्नुभयो ।

संघीयताको नयाँ अभ्यासका क्रममा आउने समस्यालाई छलफलका आधारमा सहमतिमा ल्याएर स्थानीय र प्रदेशसभा सरकारलाई प्रतिफलमूलक बनाइने पनि उहाँले बताउनुभयो । नीति तथा कार्यक्रम उपयुक्त भएकाले प्रभावकारी कार्यान्वयन होस् भनी सांसदको चिन्ता र सदासशताबाट सरकारलाई सजग गराउने कार्य भएकामा उहाँले धन्यवाद ज्ञापन गर्नुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !