९ असार २०८१, आइतबार

श्री एयरलाइन्सको जहाज सुरक्षित रहेको भन्दै पुन: पायो उडानको अनुमति


श्री एयरलाइन्स

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सको सबै जहाजहरु उडानको लागि सुरक्षित रहको जानकारी दिएको छ । नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाज सुरक्षित रहेको भन्दै ग्राउन्डेड फुकुवा गरेको हो ।

प्राधिकरणका प्राविधिकहरूले श्री एयरलाइन्सका उडानमा रहेका जहाजको जाँचपडताल गरेर उडानका लागि अनुमति दिएको प्राधिकरणले जनाएको छ ।

गत बिहीबार काठमाडौंबाट भैरहवाको लागि उडान गरेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएपछि प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएपछि शुक्रबार सबै जहाज ग्राउन्डेड गरिएको थियो ।

बिहीवार काठमाडौंबाट भैरहवा जाँदै गरेको जहाजमा इन्जिनमा आगो देखिएको घटनापछि नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै ८ वटा जहाजहरुमध्ये सञ्चालनमा रहेका ४ वटा ग्राउन्डेड गराएको थियो । नागरिक उड्डयन प्राधिकरणले हवाई योग्यता निरीक्षण नभएसम्मका लागि जहाज उडाउन प्रतिबन्ध लगाएको थियो ।

श्री एयरलाइन्सको उडान नं ८२१ को जहाजको इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि जहाज बीचबाटै काठमाडौँतर्फ फर्काइएको थियो । उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गराइएर उक्त जहाज ठूलो दुर्घटनाबाट बचेको थियो ।

प्राधिकरणको विज्ञ टोलीले एयरलाइन्सको सम्पूर्ण जहाजको प्राविधिक जाँच गरेको थियो । विज्ञहरुको टोलीले इन्जिनियरिङ, अपरेसन, सुरक्षा तथा कम्पनीको वित्तीय स्थिति तथा प्रशासनिक क्षमताको विस्तृत अध्ययन गरिएको थियो ।

चेकजाँच गर्दा जहाजहरु उडानका लागि पूर्ण सुरक्षित देखिएको प्राधिकरणले जनाएको छ । यससँगै प्राधिकरणले चेकजाँचपछि उडान सञ्चालनको लागि पुनः अनुमति पाएपछि श्री एयरलाइन्सले आज शनिबारदेखि नियमित उडान गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !