८ बैशाख २०८१, शनिबार

हाम्रो शरीरमा हुने तीन प्रकारका दोषहरु के के हुन ?


हाम्रो शरीर

बात, पित्त र कफलाई त्रिदोष भन्दछन् । आर्युवेद विज्ञानमा दोषहरूलाई तीन भागमा विभाजन गरिएको छ । पहिलो बाथ, दोस्रो पित्त र तेस्रो कफ गरी तीन भागमा बाँडिएको छ ।

यी तीन दोष स्वास्थ्यका मूल आधार हुन् । यीमध्ये कुनै एउटा दोष कुपित भएमा स्वास्थ्यमा समस्या देखिन थाल्छ । यी दोषहरू पञ्चमहाभूत मिलेर बनेका हुन्छन् । यदि हामीले आफ्नो स्वास्थ ठिक होस् भन्ने चाहना भए आयुर्वेदको नियमलाई पालना गर्न भुल्नु हुँदैन ।

बात, पित्त र कफ विषेश गरेर तीन प्रकारका हुन्छन् । यसका कामहरु यस्ता छन् ।

१. बात दोष

वायु र आकाश मिलेर बात दोष बन्छ ।

२. पित्त दोष

अग्नि जसलाई हामी ताप भन्छौ, अग्नि मिलेर पित्त दोष बन्छ ।

३. कफ दोष

पृथ्वी र जल मिलेर कफ दोष बन्छ ।

त्रिदोष

जब हामीले खाना खान्छौं त्यतिबेला खाना अड्कल गर्न जानेनौं भने पाचनतन्त्रमा खराबी हुन थाल्छ । यसरी हामीलाई पेटको रोगले विविध समस्या उत्पन्न गराउन सक्छ । यसलाई हामी रोग लागेको भनेर भन्छौं ।

यी तीनै दोषहरूको सन्तुलन नै स्वस्थ शरीरको पहिचान हो । हाम्रो शरीरमा जति पनि समस्या आउँछन, यी त्रिदोषको समस्याले आउने गर्छन् । हामीले खाएको खाना ठिक भएमा यी दोषहरू आफ्नै ठाउँमा बसी शरीरको धातु बन्ने काम गर्छ भने बढी वा घटी भएमा आफ्नो ठाउँबाट सरेर मल विकार बन्छ । तसर्थ हामीले खाने खाना यी तीन दोषहरूलाई सन्तुलित राख्ने खालको खाना हुनुपर्छ ।

यी त्रिदोष सबैमा समान हुँदैन । हामीले गर्ने आहार, विहार, विचार र वातावरणका कारणले दोषहरू कम वा बढी हुने गर्छ । वातावरण र शरीरको गुण हेरी खाना मिलाएर खाएमा दोषहरूलाई समान राख्न सकिन्छ । त्रिदोषहरू सन्तुलन हुने गरी खाना खान कुन खानामा के दोष हुन्छ, कुन रसले के बढाउँछ भन्ने ज्ञान हुनु जरुरी छ ।

अहिले हामीले खाना खाँदा बोलेर खाने गर्छौ । टिभि हेरेर खान्छौं । काम गरेर आउनासाथ हात सफा नगरी खाना खान्छौं वा बजारमा बनाइएको क्यामिकल मिसायको खाना खान्छौं यसले पनि वात, पित्त र कफ कुपित भएमा पाचनतन्त्रमा सोझै प्रभाव पार्ने हुन्छ ।

स्वस्थ रहन यदि चाहना भए प्रकृतिको नियमलाई पालना गरौं । यदि हामीले यो नियमलाई पालना गर्छौं भने हामीलाई कुनै पनि रोग लाग्ने सम्भावना कम हुन्छ । यसरी कुनै पनि औषधि सेवन नगरिकन रोगमुक्त हुन सक्नेछौं । आयुर्वेद ५ हजार बर्ष पहिलेदेखि ऋषिमुनिले यो धर्तीमा मानवको उपचार गर्न जडिबुटी प्रयोग गर्दै आएका थिए ।

तिनै ऋषिहरूले बात पित्त र कफबारे अनुसन्धान गरेर पत्ता लगाएका रहेछन् । आज हामीले परम्परालाई भुल्दै जाँदा र आयुर्वेदप्रति चासो नदिँदा थुप्रै रोगहरूको दलदलमा फस्दै गएका रहेछौं । अब हामीले यो कुरा बुझ्न जरुरी छ । यदि हामीले प्रकृतिको नियमलाई पालना गर्छौं भने हामीलाई कुनैपनि रोग लाग्ने सम्भावना रहने छैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !