९ पुस २०८१, मंगलबार

कुकुरले टोकेका बिरामीको संख्यामा अप्रत्यासित वृद्धि


Jaleshwor Hospital

३ जेठ, महोत्तरी । तराईमा बढ्दो गर्मीसँगै अहिले महोत्तरीको जिल्ला अस्पताल, जलेश्वरमा कुकुरले टोकेको बिरामीको संख्यामा अप्रत्यासित रुपमा वृद्धि भएको छ ।

यसअघि फाटफुट रुपमा कहिलेकाहीँ मात्र एक÷दुईजना कुकुरले टोकेका बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल, जलेश्वरमा अहिले दैनिक औसतमा एक दर्जन त्यस्ता बिरामी आउने गरेको अस्पतालका डा मृत्युञ्जय ठाकुरले बताउनुभयो ।

उहाँले बढ्दो गर्मीसँगै अहिले कुकुरको मानसिक अवस्था बिग्रिने गरेकाले कुकुरको सम्पर्कमा जानेलाई कुकुरले बढी टोक्ने गरेका कारण अहिले जिल्ला अस्पतालमा दैनिक कुकुरले टोकेका बिरामीको चाप बढेको बताउनुभयो ।

दस नगरपालिका र ५ गाउँपालिका रहेको महोत्तरीका विभिन्न गाउँठाउँबाट कुकुरले टोकेका बिरामी आउनुका साथै जलेश्वर अस्पतालमा भारतीय बिरामीसमेत उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख डा राजीव झाले बताउनुभयो ।

उहाँका अनुसार अप्रत्यासित रुपमा कुकुरले टोकेका बिरामी बढेपछि अहिले कुकुरले टोकेका बिरामीलाई चिकित्सकले विशेषरुपमा ध्यानापूर्वक सेवा दिइने गरेको बताउनुभयो ।

कुकुरले टोकेको प्रत्येक बिरामीलाई रोगबाट बच्नका लागि प्रोफालेक्सिस नामक एन्टिरेबिज भ्याक्सिन दिइने गरिएको छ भने घाउको प्रकृति हेरी एकजनालाई तीनदेखि पाँच भाइल (डोज) सम्म भ्याक्सिन दिनुपरेको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !