३१ वैशाख, काठमाण्डौ । नियमित ओरालो लाग्दै आएको शेयर बजार आज पनि १०.२८ अंकले घटेर एक हजार ३३८ बिन्दुमा झरेको छ । आज दिन बजारमा ४२ करोड ५१ लाखको शेयर किनबेच भएको छ । नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको हो । वैशाख महिनाभर बजारमा १०० अंकको गिरावट भएको छ ।
बजेटको तीव्र प्रतिक्षा भइरहँदा बजारले समेत अपेक्षित उचाई लिन सकेको छैन । सोमबार होटल समूहको सूचक ८.६६ अंकले बढ्यो भने उत्पादनमूलकमा २५.६१ अंक र अन्य समूहमा ३.६३ अंकको बढोत्तरी भयो । बाँकी सबै समूहको सूचक घटे ।
यो दिन बैकिङ समूह १०.०४ अंकले घट्यो भने बिमा, विकास बैंक र माइक्रोफाइनान्समा क्रमशः ६९.९६ अंक, २६.९१ र २२.५९ अंकको गिरावट देखियो । यस्तै, व्यापार समूह २.६२ अंक, जलविद्युत समूह १५.५ अंक, बित्त समूह ७.४८ अंकले घटे ।
‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप देखिँदा सेन्सेटिभ इण्डेक्स २.४१ अंकले घट्यो । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.९१ अंकको गिरावट देखियो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६३ कम्पनीका १० लाख ७ हजार ७ सय ६४ कित्ता सेयर ४२ करोड ५१ लख ९४ हजार २ सय ९९ रुपैयाँमा किनबेच भए ।
यो दिन सबैभन्दा बढी सिद्धार्थ बैंकले ६ करोड ४७ लाखको कारोबार गर्यो । यस्तै, सिद्धार्थ इन्स्योरेन्सले २ करोड ५२ लाखको कारोबार गर्यो भने नवील बैंकको १ करोड ६६ लाख बढीको संस्थापक सेयर किनबेच भयो । बुटवल पावर कम्पनीले १ करोड १८ लाख बढीको कारोबार गरेको बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकले पनि १ करोड १८ लाख, सानिमा बैंकले १ करोड १४ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९७ लाख, फ्रस्ट माइक्रोफाइनान्सले ९२ लाख, नवील बैंकले ८८ लाख र सेञ्चुरी बैंकले पनि ८८ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन हिमालयन डिस्टीलरी लिमीटेडका सेयरधनी मालामाल भए । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । यस्तै, उन्नति माइक्रोफाइनान्सका लगानीकर्ताले ७.०६ प्रतिशतले सम्पत्ति बढाए ।
यो दिन किसान माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीले घट्यो । भार्गव विकास बैंकको मूल्यमा समेत ५.२२ प्रतिशतको गिरावट आयो ।