६ जेष्ठ २०८१, आइतबार

‘गोरखापत्र’ एक नम्बरको पत्रिका हुनुपर्र्छः सञ्चार राज्यमन्त्री


Gokul Baskota

२४ वैशाख, काठमाण्डाै । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विगतमा भएका कमजोरीलाई सुधार गर्दै ‘गोरखापत्र’ एक नम्बरको पत्रिका हुनुपर्नेमा जोड दिनुभएको छ ।

गोरखापत्र संस्थानको ११८ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले गोरखापत्र सरकारी मुखपत्र भए तापनि यसको काममा कसैले पनि दवाव नदिएको बताउँदै सबैलाई यसको स्तरोन्नतिमा लाग्न आग्रह गर्नुभयो ।

राज्यमन्त्री बाँस्कोटाले गोरखापत्र संस्थानले समाजलाई बाटो देखाउने किसिमको काम गर्नुपर्छ भन्दै सुशासनको काम पनि यही सञ्चारमाध्यमबाट हुनुपर्ने भनाइ व्यक्त गर्नुभयो । ‘गोरखापत्र’ व्यावसायिकतामा जान सरकारले सक्दो सहयोग गर्ने बताउँदै राज्यमन्त्री बाँस्कोटाले भन्नुभयो, “अबको गोरखापत्र अंक र वर्षहरूको निरन्तरता होइन कन्टेन्ट(विषयवस्तु) र सोसाइटी(समाज)को जीवनको निरन्तरतामा यसको विकास हुनुपर्छ ।”

कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गर्नुभयो । सो पुरस्कारको राशि रु ५५ हजार ५५५ छ । कार्यक्रममा रिसालले पत्रकारिताको आफ्नो पहिलो गुरु नै ‘गोरखापत्र’ भएको बताउँदै त्यति बेला गोरखापत्रले नेपाली भाषाको शिक्षकका रुपमा काम गरेको विचार व्यक्त गर्नुभयो ।

गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायले गोरखापत्रमा चाहेको जनशक्ति र कर्मशीलता भए तापनि सोचेअनुरुपको प्रगति हुन नसकेको बताउँदै गोरखापत्रमा भएको समस्याको पहिचान भइसकेकाले चाँडै यसको समाधानतर्फ लाग्ने दृढता व्यक्त गर्नुभयो ।

कार्यक्रममा उत्कृष्ट कर्मचारीतर्फ सरस्वती रञ्जित पुरस्कृत हुनुभयो । उहाँले रु २५ हजार एक प्राप्त गर्नुभयो । त्यसैगरी स्थानीय समाचारदाता प्रदेश नं १ का सचिन पोखरेल, २ का कन्हैलाल केशरी, ३ का राममणि दाहाल, ४ का रमेश पौडेल, ५ का छविलाल पाण्डे, ६ का ललित बसेल र ७ का प्रकाशविक्रम शाह तथा काठमाडौँ उपत्यकाबाट देवबहादुर कुँवर सम्मानित हुनुभयो । उहाँहरूले जनही रु पाँच हजार ५५५ प्राप्त गर्नुभयो । कार्यक्रममा संस्थानले विज्ञापन एजेन्सी तथा पत्रिका बिक्रेतालाई पनि सम्मान गरेको थियो । संस्थानबाट अङ्ग्रेजी दैनिक ‘द राइजिङ नेपाल’, साहित्यिक मासिक ‘मधुपर्क’ र बाल पत्रिका ‘मुना’ प्रकाशन हुने गरेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु