१९ वैशाख, काठमाण्डौ । अत्यधिक उडान चापलाई व्यवस्थापन गर्न धौ धौ भएको निश्कर्ष निकाल्दै सरकारले काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट आन्तरिक टर्मिनललाई अलग्याउने तयारी स्वरुप संभावित क्षेत्रको खोजी सुरु गरेको छ ।
पर्यटनमन्त्री रविन्द्र अधिकारीसहितको टोलीले यही उद्देश्यले काभ्रेको चिसापानी, ठूलीचौर तथा बनेपाको नागीडाँडाको स्थलगत अवलोकन भ्रमण गरेको छ । यी तीन क्षेत्रमध्येकै एक ठाउँमा आन्तरिक उडानका लागि विमानस्थल निर्माण गरिने मन्त्री अधिकारीले बताएका छन् ।
‘विभिन्न संभावित स्थलको अध्ययन तथा अवलोकन भएको छ ।’ उनले भने–‘विज्ञहरुको सहयोगमा हेरिएकामध्येको पनि उत्कृष्ट ठाउँमा विमानस्थल बनाउने निर्णय चाँडै गरिनेछ ।’ उनका अनुसार आन्तरिक विमानस्थल निर्माण संभावित ठाउँमध्ये कुनमा उपयुक्त हुन्छ भन्ने बिषयको गहन अध्ययनका लागि एक समिति बनाइनेछ र सो समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ ।
उनले समितिले सही ठम्याएको स्थानमा तत्काल विमानस्थल निर्माणको काम अगाडि बढाइने र तीन वर्षभित्र निर्माण सम्पन्न गरिने प्रष्ट पारेका छन् ।
पर्यटन मन्त्रालय स्रोतले अन्तराष्टिय विमानस्थल रहेको क्षेत्रदेखि बढीमा १ घण्टाको दूरीमा आन्तरिक विमानस्थल निर्माण गर्ने तयारी थालिएको बताएको छ ।
स्मरणरहोस्, यसअघि समेत तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र बिष्टमगरले यो अवधारणामा काम गरेका थिए । त्यसबेला समेत समिति बनाइएको थियो, त्यो समितिको सुझाव तथा अध्ययनलाई समेत आत्मसाथ गरी अगाडि बढ्ने सरकारको तयारी छ ।