२० पुस २०८१, शनिबार

माइभ्याली गोल्डकपको उपाधि थ्रिस्टारले उचाल्यो


three-star-mai-valley

१८ वैशाख, इलाम । थ्रिस्टार क्लब ललितपुर इलाममा आयोजित चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

इलामको सदरमुकामस्थित ठूलो टुँडिखेल मैदानमा सोमबार भएको फाइनलमा चिरपरिचित मनाङ मस्र्याङदी क्लब काठमाडौंलाई अतिरिक्त समयमा १–० गोलको संघर्षपूर्ण जित निकाल्दै थ्रिस्टारले उपाधि चुमेको हो ।

गोलरहित बराबरीमा निर्धारित समयको खेल टुङ्गिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयको तेश्रो मिनेटमा  थ्रिस्टारका सुनिल बलले गोल गरी टिमलाई जितका निम्ति दाबेदार टिम सावित गरेका हुन् ।

फाइनलका विजयी टिम थ्रिस्टारले नगद ६ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ ट्रफि र मेडल प्राप्त गरेको छ  । उपविजेता मनाङले भने ४ लाख रुपैयाँमा चित्त बुझाउनु परेको छ  ।फाइनलको ‘म्यान अफ दी म्याच’ मनाङका हेमन गुरुङ घोषित भएका छन् । उनले नगद १० हजार र चाँदीको मेडल प्राप्त गर्न सफल भएका छन्  ।

प्रतियोगिताको उत्कृष्ठ खेलाडी उपविजेता मनाङका विराज महर्जन घोषित भए । उनले १५० सिसीको यमाहाको स्कूटर प्राप्त गरे । प्रतियोगिताको सर्वाधिक गोलकर्ता आयोजक माइभ्यालीका मनिस थापा, नेपाल पुलिसका क्लबका रेजिन सुब्बा तथा सशस्त्र प्रहरीको एपीएफका युवराज खड्का र नविन लामा घोषित भए । खेल अवधिभर २/२ गोल गरेका उनीहरुले जनही ७ /७ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको थ्रिस्टारका एलन न्यौपाने उत्कृष्ठ गोलरक्षक घोषित भएका छन्  । यस्तै थ्रिस्टार कै खेलाडीहरु उत्कृष्ठ डिफेन्डर पिटर, उत्कृष्ठ मिडफिल्डर सुनिल बल, उत्कृष्ठ फर्वड विदेशी खेलाडी मार्टिन र उत्कृष्ठ प्रशिक्षक मेघराज केसी घोषित भएका छन्  । उनीहरुले जनही नगद १५/१५ हजार प्राप्त गरे ।

त्यसैगरी उदीयमान खेलाडी आयोजक माइभ्यालीका दर्शन गुरुङ घोषित भएका छन्  । उनले नगद २० हजार प्राप्त गरे । गत वैशाख ६ गतेबाट सुरु भएको प्रतियोगितामा तीन विदेशी टिमसहित १२ टिमको सहभागिता थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !