१४ वैशाख, चितवन । नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैँडा शुक्रबार नियन्त्रणमा लिइने भएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टर खोरिया मोहन क्षेत्रबाट एक जोडी गैँडा नियन्त्रण गर्न लागिएको हो ।
गैँडा नियन्त्रणका लागि आवश्यक प्राविधिक टोली र उपकरण बिहिबार खोरिया मोहन क्षेत्रमा पुगेको छ । गैँडा नियन्त्रणका लागि आसपासका पोष्टमा रहेका १० वटा हात्ती, डोजर, ट्र्याक्टर, बोलेरो जिपलगायत सामग्रीसहित जनशक्ति परिचालन गरिँदैछ ।
शुक्रबार बिहान एउटा भाले र एउटा पोथी गैँडा नियन्त्रण गर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए । ढकालका अनुसार एकदेखि दुई वर्ष उमेरका गैँडा नियन्त्रण गरिने छ । गैँडा डार्ट गरेर ट्रकमा राखेर निकुञ्जको भित्री बाटो कसरा हुँदै सौराहा लगिने छ ।
वैशाख ७ गतेदेखि सो आसपास क्षेत्रमा गैँडा खोजी कार्य जारी रहेको थियो । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका छ जना प्राविधिकसहितको टोलीले एक हप्ता लगाएर गैँडाको खोजी गरेको हो । ढकालका अनुसार अन्य दुईवटा गैँडामध्ये सौराहामा उद्धार गरी राखिएको एउटा भाले गैँडा र सुखीभार वा भिम्ले क्षेत्रबाट अर्काे गैँडा नियन्त्रण गरिने छ ।
नियन्त्रणमा लिइएका गैँडालाई सौराहामा निर्माण गरिएको पिट बुमा (गैँडा राख्न निर्माण गरिएको खोर) मा राखिने छ । केही दिन बुमा भित्रको खाल्डोमा राखेर सहजै खाना खान थालेपछि बुमामा केही महिना राखेपछि जहाजमा गैँडा चीन पठाइँदै छ ।
जंगली गैँडालाई घरपालुवाको जस्तो बानी व्यहोरा बनाएर मात्रै पठाइने छ । २०७३ असारमा प्रधानमन्त्री हुँदा केपी ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने निर्णय गरेका थिए । नेपाली विज्ञको टोलीले चीनमा गैँडा राख्ने ठाउँको अध्ययन गरिसकेको छ ।