६ जेष्ठ २०८१, आइतबार

श्रममन्त्री विष्टसँग चिनियाँ राजदूतको भेटवार्ता


Gokarna-Bista

१२ वैशाख, काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि चीनका राजदूत यू होङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा उहाँहरुबीच नेपाल–चीनबिचको ऐतिहासिक, कूटनीतिक, सामाजिक, सांस्कृतिक र श्रमसम्बन्धी आर्थिक सम्बन्धलगायत दुुई देशबिचको पारस्परिक सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री विष्टले पछिल्लो दशकमा चीनले हासिल गरेको आर्थिक प्रगति र त्यसको दिगोपनाको प्रशंसा गर्दै चीनको विकासको प्रभावको उपयोगबाट मात्र पनि गरिबी निवारण, सामाजिक रुपान्तरण र आर्थिक विकासमा नेपालले फड्को मार्न सक्ने बताउनुभयो ।

उहाँले नेपालको दक्ष र सीपयुक्त जनशक्तिलाई स्वदेशमा नै उपयोग गरी नेपालको विकासमा परिचालन गर्नका लागि सरकारले उपयुक्त नीति तयार गरी कार्यान्वयन गर्ने सोच बनाएको र यसका लागि चीनसँगको अनुभव आदानप्रदान उपयोगी हुने पनि बताउनुभएको छ ।

भेटमा चिनियाँ राजदूत यूले चीन आधुुनिक र प्रविधियुक्त विकास निर्माणको दिशामा अग्रसर भएको र यसैमा आधारित भई चीन सरकारको सहयोगमा नेपालमा विभिन्न आयोजनाहरु सञ्चालनमा रहेको चर्चा गर्नुभयो ।

नेपालमा सञ्चालित परियोजनाहरुमा कार्यरत चिनियाँ कामदारलाई भिसा उपलब्ध गराउने प्रणालीलाई थप सरल बनाउन सकेमा चिनियाँ कामदारलाई थप सहज हुने राजदूत यूको भनाई थियो ।

राजनीतिक स्थायित्वसँगै नेपालको लगानी नीति र औद्योगिक वातावरणमा सुधार हुँदै गएकाले आगामी दिनमा चिनियाँ लगानी बढ्ने र यसबाट आन्तरिक रोजगारी अभिवृद्धिमा सघाउ पुुग्ने विश्वास समेत चिनियाँ राजदूतले व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।

राजदूत यूले नेपाललाई आवश्यक पर्ने सीपमूलक तालिम र उद्यमशिलता विकासको लागि प्रस्ताव पहिचान गरी जानकारी गराइएमा त्यस्ता तालिम सञ्चालन गर्न र तालिम केन्द्रहरुको स्तरोन्नतिका लागि चीन सरकारले आवश्यक सहयोग गर्ने पनि उल्लेख गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु