७ जेष्ठ २०८१, सोमबार

अमेरिकाले ९ हजार नेपालीलाई विस्थापन गर्दै !


New York USA America

एजेन्सी, १२ वैशाख । अमेरिकाले करिब ९ हजार नेपालीलाई विस्थापनको तयारी गरेको द वासिंटन पोस्टले जनाएको छ । वासिंटन पोस्टको अनलाइन संस्करणले नेपाली नागरिकलाई अमेरिकाको होमल्यान्ड सेक्युरिटीले दिँदै आएको टीपीएस खारेजको तयारी गरेको जनाएको छ ।

नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पको कारण देखाउँदै तीन वर्षअघि अमेरिकी सरकारले ‘अनडकुमेन्टेड’ अवस्थामा बसोबास गरिरहेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो ।

वासिङट्न पोष्टले विभागले तयार पारेको आन्तरिक योजनाको दस्तावेज फेला पारेको छ जसमा नेपालीहरुलाई दिँदै आएको टीपीएस सुविधा खारेज गरी स्वदेश फर्कनका लागि एक वर्षको समय दिने उल्लेख छ ।

महाभूकम्पमा ज्यान गुमाएका आफन्त भेट्न नेपाल आवतजावत गर्न सहज होस् भन्ने प्रयोजनका लागि अमेरिकाले नेपाली नागरिकलाई टीपीएस सुविधा दिएको थियो । सो स्किमअन्तर्गत झण्डै १५ हजार नेपालीले टीपीएस सुविधा लिएको भए पनि अहिले झण्डै ९ हजार मात्रै अमेरिकामा रहेको विभागको तथ्यांक छ ।

अवैधानिकरुपमा अमेरिका बसोबास गरिरहेका विदेशीलाई स्वदेश फर्काउने ट्रम्प प्रशासनको अभियानको पछिल्लो मारमा नेपालीहरु परेका छन् । ट्रम्प प्रशासनका हार्डलाइनरहरुले पहिलेदेखि नै टीपीएस सुविधा खारेजीमा जोड गरिरहेका थिए । टीपीएस सुविधा लामो समयका लागि दिन नसकिने र यसको प्रयोजन त्यस्तो नभएको उनीहरुको भनाइ छ ।

नेपालीलाई दिइएको टीपीएसको समय जुन महिनामा सकिँदैछ । समय समाप्त हुनुभन्दा ६० दिन पहिले निर्णय गरिसक्नुपर्ने प्रावधान रहेको हुँदा केही दिनमै विभागले नेपालीको टीपीएस खारेज निर्णय बुधबार सार्वजनिक गर्न सक्ने छ । टीपीएस खारेजपछि नेपालीलाई स्वदेश फर्किनका लागि एक वर्षको समय दिन सक्ने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !