४ आश्विन २०८१, शुक्रबार

धरहराले हाम्रो स्वाभिमान बोकेको थियो, त्यही ढलेको छ, अब हामीले फेरि उठाउनेछौं : प्रम ओली


PM Sambodhan

१२ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको पुनर्निर्माण पुरानै शैलीमा तर बलियो गरी हुने दाबी गर्नुभएको छ । गोरखा भूकम्पको ३ वर्ष पुगेको स्मरणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको भग्नावशेषमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेसम्म जे कारणले धरहराको निर्माण रोकिएपनि अब नरोकिने दावी गर्नुभयो ।

२०७२ सालको फागुनमा आफूले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरे पनि धरहरालाई व्यापारिक केन्द्र बनाउन खोजेकाले पुनर्निर्माण नभएको ओलीको भनाई छ । नेपालीको शान र मान बोकेको धरहराको पुनर्निर्माणमा धेरै विवाद नगर्न नागरिकसँग आग्रह गर्दै ओलीले स्वभिमानको धरहरा छिटै नै बन्ने बताउनुभयो ।

‘धरहराले हाम्रो शान बोकेको थियो, मान बोकेको थियो, अनि स्वाभिमान बोकेको थियो, त्यही धरहरा ढलेको छ, हाम्रो स्वाभिमानको धरहरा हामीले फेरि उठाउनेछौं’ भत्केको धरहराको छेउमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब व्यापारिक प्रयोजनको लागि होइन हाम्रो सम्पदा संरक्षणको उदाहरणको लागि धरहरा बन्नेछ ।’

पहिलोपटक प्रधानमन्त्री हुँदा ओलीले २०७२ सालको फागुन ४ गते मेरो धरहरा मै बनाउँछु अभियान सुरु गर्नुभएको थियो । तर अहिलेसम्म पनि धरहरा उस्तै छ । ओलीले स्मरण गर्दै भन्नुभयो, ‘२०७२ सालको फागुनमा मैले यसै ठाउँबाट मेरो धरहरा मै बनाउँछु अभियान सुरु गरेको थिएँ, त्यसयता यि रुखका पात २ पटक झरे, २ पटक पलाए, तर धरहरा उस्तै छ, अब यसलाई यस्तै रहन दिइन्न ।’

उहाँले नेपालका पुरातात्विक सम्पदा, धार्मिक आस्थाका केन्द्र र नेपाल चिनाउने सम्पदा गुमाए पनि फेरि ती सम्पदालाई भूकम्प अघिको जस्तै गरी पुनर्निर्माण गरिने दावी गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !