१२ आश्विन २०८१, शनिबार

गोरखा भूकम्पको ३ वर्ष पूरा, पुनर्निर्माण सुस्त


Earthquake

१२ वैशाख, काठमाण्डौ । गोरखा भूकम्पको आज ३ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि वैशाख १३ गते र २९ गते सिन्धुपाल्चोक र दोलखा केन्द्रविन्दु भएर गएका ठूला परकम्पले १४ जिल्लामा ठूलो क्षति पुर्‍याएको थियो ।

भूकम्पमा झण्डै ९ हजार नागरिकले ज्यान गुमाएका थिए भने हजारौं घाइते भएका थिए । ७ लाख ६७ हजार घर  भत्किएका थिए भने  ७ सय ५३ वटा पुरातात्विक संरचनामा क्षति पुगेको छ । सरकारले भूकम्पमा घर भत्किएका प्रभावितलाई  ३ चरणमा ३ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेपनि अहिलेसम्म आधाले पनि त्यो रकम पाउन सकेका छैनन् । भूकम्प गएका ३ वर्षमा राष्ट्रिय पुननिर्माण प्राधिकरणमा ४ पटक गरि ३ वटा प्रमुख कार्यकारी अधिकृत फेरिएपनि पुनर्निर्माणको काम नसकिएको भन्दै आलोचना पनि हुँदै आएको छ ।

७ लाख ६७ हजार ७ सय ५ घरधुरी ३ लाख रुपैयाँ अनुदान पाउन योग्य भए पनि अहिलेसम्म ७ लाख ९ हजार परिवारसँग मात्रै अनुदान सम्झौता भएको छ । १ लाख ४२ हजार घरको मात्रै पुनर्निर्माण  सकिएको छ भने ४ लाख ३८ हजार घर बन्दै गरेका छन् । ६ लाख १२ हजार ४८ जनाले पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएकोमा जम्मा ३ लाख २२ हजारले मात्रै दोस्रो किस्ता लिनुले पुनर्निर्माणको कामले गति नलिएको प्रष्ट हुन्छ ।

यस्तै घर क्षति भए पनि अनुदान नपाएको भन्दै परेका २ लाख ३७ हजार गुनासोमध्ये २ लाख ५ हजार गुनासोको सम्बोधन भैसकेको छ । यस्तै ३ सय ७९ सरकारी संरचना भत्किएकोमा २ सय २० वटाको पुनर्निर्माण सकिएको छ, तर सिंहदरवार नै पुननिर्माण नभएको भन्दै आलोचना हुँदै आएको छ ।

यस्तै  ७ हजार ५ सय शैक्षिक संस्था भत्किएकोमा ३ हजार १ सय वटा निर्माण सम्पन्न भैसकेका छन् । यस्तै भूकम्पमा ११ सय ९७ स्वास्थ्य संस्था भत्किएकोमा ५ सय ८६ वटा मात्रै बनेका छन् । भूकम्पले झण्डै ७ सय ५३ वटा पुरातात्विक सम्पदामा क्षति पुर्‍याएकोमा जम्मा १ सय वटा मात्रै सम्पदाको निर्माण सकिएको छ । रानीपोखरी, धरहरा, काष्ठमण्डप लगायतमा बहुचर्चित सम्पदाको भने काम नै सुरु भएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !