९ वैशाख, काठमाण्डौ । पार्टी एकताको सन्देश दिन एमाले र माओवादीले आयोजना गरेको संयुक्त सभा अझै सुरु हुन सकेको छैन ।
ब्यानरमा लेनिनको फोटो नराखेको भन्दै लफडा भएपछि कार्यक्रम सुरु हुन नसकेको हो । सभामा सम्बोधन गर्न प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय सभागृह पुगिसक्नुभएको छ ।
तर उहाँहरु मञ्चमा हुनुहुन्न, कोठामा बसिरहनुभएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल अहिले कसरी कार्यक्रम अघि बढाउने भन्ने विषयमा छलफल गरिरहेका छन्। दुवै पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रममा राखिएको ब्यानरमा लेनिनको फोटो नराखेको भन्दै माओवादी कार्यकर्ताले विरोध गरेका हुन् । उनीहरुले ब्यानर हटाइदिएका छन् ।
ब्यानरमा पुष्पलाल, मनमोहन र मदन भण्डारी तथा केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको मात्रै फोटो थियो । माओवादी कार्यकर्ताले लेनिनको फोटो राख्न माग गर्दै नाराबाजी गरेका छन् । अर्को ब्यानर बनाएर कार्यक्रम सुरु गर्ने तयारी भैरहेको बुझिएको छ ।