७ वैशाख, काठमाण्डौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान भर्न अझै केही समय लाग्ने भएको छ । गएराति १० बजेर ७ मिनेटमा मालिन्दो एयरको जहाज काठमाडौंबाट मलेसियाको लागि उड्ने क्रममा रन वेबाट झण्डै एक सय फिट दक्षिणतिर गएकाले अहिले अन्तराष्ट्रिय उडान र अवतरण रोकिएको विमानस्थल कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार आन्तरिक उडान भर्ने तयारी गरे पनि भिजिविलिटि कम भएकाले आन्तरिक उडान पनि हुन सकेको छैन । राति ‘रनवे’बाट गएको विमानलाई अहिले सेना, प्रहरी र वायु सेवा निगमका कर्मचारीले जहाज हटाउने प्रयास गरिरहेका उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार विमान नहटाएसम्म अन्तराष्ट्रिय उडान भर्न सक्ने अवस्था छैन ।
विमान रन वे बाट बाहिर गए पनि विमानमा रहेका १ सय ३९ यात्रु सकुशल छन् । विमानस्थलमा रातिदेखि कुनै पनि विमान अवतरण नभएपछि अन्य देशबाट आएका विमानलाई भारतको विमानस्थलमा डाइभर्ट गरिएको प्रवक्ता ठाकुरले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिलेसम्म झण्डै १० वटा उडान र अवतरण अवरुद्ध भएको छ । यसैबीच उडान अवरुद्ध भएपछि विमानस्थल पुगेका यात्रु अलपत्र परेका छन् । राति विभिन्न एयरलाइन्सले आफ्ना यात्रुलाई विभिन्न होटलमा लगे पनि पर्याप्त ठाउँ नहुँदा समस्या भएको यात्रुले गुनासो गरेका छन् ।