![नेप्से](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/04/Online-Share.png?fit=627%2C405&ssl=1)
६ वैशाख, काठमाण्डौ । सेयर कारोबारमा पूर्ण अनलाइन कारोबार प्रणाली लागू गर्न लागेको नेपाल स्टक एक्सचेञ्ज नेप्सेले शुक्रबार पूर्ण अनलाइन कारोबार प्रणालीको डेमो सार्वजनिक गर्ने भएको छ । नेप्सले सेयर दलाल व्यवसायीहरुबीच डेमो सार्वजनिक गर्न लागेको हो।
पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको निमार्ण गरेको भेण्डर कम्पनी वाईको नेपालले उक्त प्रणालीमा समावेश हुने सबै १६ वटा मोडलहरु निमार्ण सम्पन्न गरिसकेपछि सेयर दलालहरुलाई अनलाइनको स्वरुप र प्रणालीगत संरचनाबारे जानकारी गराउन लागिएको नेप्सेले जनाएको छ ।
नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र साउदले ब्रोकरहरु माझ डेमो सार्वजनिक गरेपछि उक्त प्रणालीमा सुधार गर्नुपर्ने भएमा सुधार गरेर एक महिना भित्रमा परिक्षणमा लगिने जानकारी दिए । प्रणालीमा धेरै सुधार गर्नु नपरे जतिसक्दो छिटो संचालनमा आउने साउदको भनाई छ ।
वाईको र नेप्सेबीचको सम्झौता पत्रमा जेठ १८ गतेसम्म पूर्ण अनलाईन कारोबार प्रणाली निर्माण सम्पन्न गरिसक्नुपर्ने उल्लेख छ । पूर्ण अनलाईन कारोबार प्रणाली संचालन भएपछि सेयर बजार पूर्ण स्वचालित हुनेछ । यसले सेयरबजारको बिकास र बिस्तार हुने अपेक्षा गरिएको छ ।