६ वैशाख, काठमाण्डौ । नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभा विहीबारबाट सुरु हुँदैछ । नेपाली क्रिकेटमाथिको निलम्बन फुकुवाका लागि महत्वपूर्ण मानिएको साधारणसभाले नयाँ विधानलाई संसोधन गरेर पारित गर्ने ठानिएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले असहमति जनाएका बुँदालाई हटाएर नयाँ विधान तयार पारिएकाले साधारणसभाले पारित गर्ने विधानलाई आईसीसीले मान्यता दिँदै नेपाली क्रिकेटमाथिको निलम्बन फुकुवा गर्ने सम्भावना रहेको नेपाली क्रिकेट क्षेत्रका व्यक्तिहरुको भनाई छ ।
क्यानका महासचिव अशोकनाथ प्याकुरेलले नेपाली क्रिकेटमाथिको निलम्बन हट्ने सम्भावना अब बढेको र निलम्बन हट्ने सुनिश्चितता भए हदैसमम लचिलो हुन तयार रहेको बताउनुभयो ।
विहीबार ११ बजे काठमाडौंमा सुरु हुने साधारणसभा भोलि सकिनेछ ।
गएको भदौमा भएको क्यानको विशेष साधारणसभाले सल्लाहकार समितिले बनाएको विधानलाई संशोधन गर्दै साधारणसभामा १७ जना सदस्यले भोट हाल्न र चुनावमा उठ्न पनि पाउने तथा राष्ट्रिय खेलकुद परिषद्का सातजना पदाधिकारी बिना मताधिकार साधारणसभामा रहन पाउने व्यवस्था गरेपछि आईसीसीले अस्वीकृत गरेको थियो । गएको माघमा आईसीसीसँगको छलफलमा ती बुँदा संशोधन गर्न राजी भएका क्यानका पदाधिकारीले नयाँ विधान मस्यौदा साधारणसभामा पेश गर्न लागिएको छ ।
क्यानको साधारणसभाले सहमति बमोजिम विधान पारित गरे आईसीसीले आगामी जुन महिनामा हुने वार्षिक साधारणसभामा क्यानको निलम्बन फुकुवा गर्ने प्रस्ताव लैजाने बताइसकेको छ ।
साधारणसभाका लागि आईसीसीले पनि बजेट निकासा गर्नुका साथै सकारात्मक रुपमा लिने बताइसकेको छ । यदि विवादित बुँदाहरुलाई हटाएर विधान पारित भएमा दुई वर्षदेखिको अपाङ्ग क्यानले नयाँ स्वरुप पाउने निश्चित देखिएको छ ।












