४ आश्विन २०८१, शुक्रबार

कम्युनिष्ट पार्टीकै नेताको आरोप, प्रधानमन्त्री ओली राष्ट्रवादी होइनन्


Communist Party Interaction

५ वैशाख, काठमाण्डौ ।  चार  कम्युनिष्ट पार्टीका नेताहरुले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रवादी नेता नभएको बताएका छन् ।

मंगलबार राजधानीको हार्दिक होटलमा आयोजित ‘भारतसँग असमान सन्धी सम्झौता र राष्ट्रियताको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल,  नेकपा र (नेकपा ऋषि कट्टेल समूह) का नेताहरुले नाकावन्दीको बेलामा उच्च राष्ट्रवादी नेताको रुपमा आफ्नो छवि बनाएपनि भारत भ्रमणले सच्चा राष्ट्रवादी नभएको बताएका हुन् ।

कार्यक्रममा नेकपा मसालका हिमलाल पूरीले प्रधानमन्त्री ओलीले विगतमा भारतसँग भएका असमान सन्धी पूरा गर्न लागेको बताउँदै त्यसले देशलाई फाइदा नपुर्‍याउने बताए ।

उनले प्रधानमन्त्री ओलीको भारत भ्रमणले नेपालीलाई फाइदा नपुगको पनि बताए । “ओलीको भारत भ्रमणबाट कोही नेपाली पनि खुशी हुनुपर्ने कारण छैन । विगतमा भएका असमान सन्धीहरु कार्यान्वयन हुँदैछन् । यसले नेपालको राष्ट्रियतामा खलल पुर्‍याउछ, “पूरीले भने ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका नेता  सीपी गजुरेलले प्रधानमन्त्री ओलीले आफू भारत निकट भएको प्रमाणित गर्न भारत गएको आरोप लगाए ।

“कुनै सन्धी सम्झौता गरेका थिएनन् भने किन ओली भारत गए ?  ओली भारत जानुको कारण म पुनः मोदी क्याम्पमा फर्किसकेको छु भन्ने सन्देश दिन हो । ‌ओली अब राष्ट्रवादी नेता रहेनन् “गजुरेलले भने ।

त्यस्तैगरी विज्ञ दिपक बोहोराले अरुण तेस्रोको सिलन्यास भारतबाट गर्नु गलत भएको बताए । अरुण तेस्रोको शिलन्यास भारतबाट गर्नु उसैलाई बुझाए बराबरी हो, बोहराले भने, “भारतले नेपालीलाई पङ्गु बनाउने काम गरिरहेको छ ।
कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले सन १९५०  भारतसँगको भएको असमान सन्धीले नेपाल डुबेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !