१२ बैशाख २०८१, बुधबार

कालिकोटका १४ चेपाङ परिवारले दिए शेरबहादुर देउवा विरुद्ध उजूरी


deuba

जेष्ठ १४,दुर्गम जिल्ला कालिकोटको कोटवाडास्थित निर्माणाधिन विमानस्थलमा मारिएका जोगीमाराका चेपाङ मजदुरहरुका आफन्तजनहरुले धादिङको शान्ति समितिमा उजूरी दर्ता गराएका छन् ।

जोगीमारा बाट बिहीवार सदरमुकाम पुगेका १४ जना मृतकका परिवारजनले आवश्यक कारबाही लागि तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवा, तत्कालीन प्रधानसेनापती रुक्माङ्गत कटुवाल, तत्कालीन कालिकोट प्रजिअ र तत्कालीन कालिकोट स्थित नेपाली सेनाका गणपतीबिरुद्ध उजूरी दर्ता गराएका हुन् ।

द्वन्द्वकालमा अछाम सदरमुकाम मंगलसेन आक्रमणपछि भागेर आएका माओवादी लुकेको आशंकामा सेनाको कारबाहीमा २०५८ फागुन ११ गते ३५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये १७ जना धादिङ जिल्ला स्थित जोगीमारा वडा नम्बर १, ५ र ७ हेकराङ्ग, कोचराङ्गका मजदुर थिए ।

घटनाबिरुद्ध हामीले सर्वोच्च अदालतमा २०५९ जेठ २७ गते उजूरी दर्ता गराए पनि हालसम्म फैसला भएको छैन । न्याय नपाएपछि पुन: सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गरेका हौं’, उक्त घटनामा मारिएका जोगीमारा–५ हेकराङ्गका ६० वर्षीय तिलु चेपाङका छोरा गोविन्द चेपाङले भने। गोविन्दका अनुसार थप ३ जनाका आफन्तजनहरु पनि उजुरीका लागि आउदैं छन् ।

उजूरी दिने १४ परिवारहरुमा कुम्ले, सानुकान्छा, तिलु, डिला चेपाङ लगायत १४ घर चेपाङका विष्णु , वुद्धिवीर, गोविन्दलगायतले उजुरी दर्ता गराएका हुन् ।

पीडितहरुले हालसम्म सरकारबाट ५ लाख रुपैयाँ राहत रकम पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !