४ आश्विन २०८१, शुक्रबार

क्यानको विशेष साधारणसभा वैशाख ६ मा


CAN

४ वैशाख, काठमाण्डौ  ।  नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभा यही वैशाख ६ र ७ गते हुने भएको छ । निलम्बित निर्वाचित क्यानले काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी वैशाख पहिलो साता विशेष साधारणसभा गर्ने जानकारी दिएको हो ।

विशेष साधारणसभाले सल्लाहकार समितिले बनाएको विधान अनुमोदन गर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निर्देशनमा निलम्बित क्यानले विधान अनुमोदन गर्न लागेको हो ।

पत्रकार सम्मेलनमा निलम्बित निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले नेपाली क्रिकेटले निकास पाउछ भने आफुहरू जुनसुकै हद पार गर्न तयार रहेको बताएका छन् ।

आईसीसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्रतिनिधिको उपस्थितिमा विशेषसाधारण सभाले पारित गरेपछि क्यानले नयाँ विधान पाउने छ । तर यसअघि पनि सल्लाहकार समितिले बनाएको विधान क्यानले अनुमोदन गर्नुको सट्टा संशोधन गरेपछि आईसीसी झनै रुष्ट बनेको थियो । विधान अनुमोदनका लागि हुन लागेको यो दोस्रो विशेषसाधारण सभा हो ।

क्यानको विधान बनेपछि क्यानको निर्वाचन गराउनका लागि मनिटरिङ कमिटि गठन हुनेछ । मनिटरिङ कमिटिले क्यानको चुनाव गराउँदै नयाँ नेतृत्व प्रदान गर्नेछ । मनिटरिङ कमिटिमा ५ सदस्य रहने छन् । आईसीसीको प्रतिनिधि ३, राखेप र निर्वाचित क्यनको समान १–१ जना प्रतिनिधि सदस्य रहने छन् । क्यानको अहिले ३७ जिल्लामा निर्वाचन भइसकेको छ । मनिटरिङ कमिटिले आवश्यकताअनुसार पुनः निर्वाचन सक्नेछन् ।

फेरी पनि विधान संशोधन गरेको खण्डमा आईसीसीले सदस्यताबाटै खारेज गर्न सक्छ । यसअघि आईसीसीको प्रतिनिधि नेपाल आएर यो अन्तिम मौका हो भन्दै क्यानलाई चेतावनी दिएका थिए ।

२०७२ साल मंसिरमा क्यानका तत्कालिन उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेल लगायतका पक्षले क्यानको अधिवेशन गरेको थियो । तर, क्यानकै तत्कालिन अध्यक्ष टंक आङबुहाङको पक्षले कोठे निर्णय र पारदर्शी नभएको भन्दै तत्काल अधिवेशन रोक्नका लागि राष्ट्रिय खेलकुद परिषद्मा लिखित उजुरी दिएको थियो । राखेपले निष्पक्ष र बैधानिक तरिकाले चुनाव नभएको भन्दै परिवेक्षक पठाएको थिएन ।

त्यसको केहिदिनपछि राखेपले रमेश शिलवालको नेतृत्वमा तदर्थ समिति बनाएको थियो । क्यान विवादले उग्ररुप लिदै गर्दा आईसीसीले २०७३ बैशाखमा क्यानलाई सरकारी हस्तक्षेप र निष्पक्ष नभएको भन्दै प्रतिबन्ध लगाएको थियो । जुन प्रतिबन्ध अहिलेसम्म निरन्तर रहंदा क्यान निष्कृय छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !