१९ असार २०८१, बुधबार

एपेक्स घोटालाका ठूला ऋणी पक्राउ, काठमाडौं भ्युटावर संकटमा


Kathmandu View Tower

४ वैशाख, काठमाण्डौ ।  केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबि) ले एनसीसीमा गाभिएको तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको कर्जा घोटालामा मुछिएका ठूला ऋणीलाई पनि पक्राउ गर्न थालेको छ । व्यूरोको टोलीले सोमवार काठमाण्डौं भ्युटावरको ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको हो ।

सोमबार पक्राउ परेका भेटवाल ‘क’ बर्गका निर्माण व्यवसायी हुन् । उनले कमसल जग्गा धितो राखेर लिएको करोडौ रुपैयाँ कर्जा मध्ये १२ करोड असुल हुन नसकेपछि ब्यूरोको टोलीले नियन्त्रणमा लिएको हो ।

एनसीसी बैंकमा एपेक्स बैंक मर्ज हुनुभन्दा पहिले नक्कली ऋणी र कमशल धितोमा ऋण प्रवाह गरेको अभियोगमा सिआईबिले एपेक्सका अध्यक्ष बिष्णुप्रसाद धिताल सहित २० जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । एनसीसीले एपेक्स सहित चार विकास बैंकलार्इ गाभेर २०७३ पुस १७ गतेदेखि एकिकृत कारोबार थालेको  थियो ।

एनसीसी बैंकमा तत्कालीन एपेक्स मर्ज हुने भएपछि बैंक कर्मचारीकै मिलोमतोमा मनोज र उनका भाई राजन भेटवालले विभिन्न नक्कली ऋणीहरु खडा गरेर भक्तपुर ताथलीको ६७ रोपनी जग्गा धितो राखेर ऋण निकालेका थिए । सो ऋण तिर्न नसकेपछि अहिले बैंकले जग्गा लिलाम गरिसकेको छ ।

KTM view tower

भेटवालको पक्राउपछि भ्युटावरको निमार्ण समेत अलपत्र पर्ने भएको छ । उनी संलग्न कम्पनीले पुरानो बसपार्कमा २९ तल्ले काठमाडौ भ्युटावर बनाउने ठेक्का लिएको थियो । पाँच बर्षमा निर्माण गरी ३० बर्षपछि सरकारलाई हस्तान्तरण गर्ने योजना पेश गरिएकोमा भुकम्पपछि १२ तल्ला मात्र बनाउन स्वीकृति दिइएको थियो ।

काठमाडौ भ्युटावर निर्माणको ठेक्का पाएको जलेश्वर स्वच्छन्द बिकोई विल्डर्स कम्पनीका सञ्चालकहरुमध्ये स्वच्छन्द निर्माणका जयराम लामिछाने र बिकोई बिल्डर्सका हुमनाथ कोइरालाले सेयर बेचेर बाहिरिएपछि भेटवालको जलेश्वर हाउजिङ्गले मात्र भ्यू टावर निमार्ण गरिरहेको छ ।

कर्जाको बोझ र आर्थिक संकटले टावर निर्माणको काम अहिलसम्म निकै सुस्त गतिमा निमार्ण हुँदै आएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !