८ बैशाख २०८१, शनिबार

एमाले–माओवादी एकता संयोजन समितिको बैठक बस्दै


Joint Meeting

४ वैशाख, काठमाण्डौ ।  एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकताको लागि बनेका कार्यदलको प्रतिवेदनलगायतका विषयमा छलफल हुनेछ । एमाले नेता माधवकुमार नेपालको संयोजकत्वमा रहेको प्रतिवेदन मस्यौदा कार्यदल र माओवादी नेता रामबहादुर थापाको संयोजकत्वमा रहेको संगठन तथा विधान मस्यौदा समितिले आ–आफ्ना प्रतिवेदन शीर्ष नेतालाई यसअघि नै प्रतिवेदन बुझाए पनि त्यसबारेमा शीर्ष नेताबीच छलफल भएको छैन ।

दुई पार्टीबीच आउँदो आइतबार कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन पारेर एकता गर्ने निर्णय भए पनि एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने, चुनाव चिह्न के बनाउने र विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने कि नराख्ने भन्ने बारेमा सहमति जुटेको छैन ।

यसबारेमा हिजो प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक्ला एक्लै छलफल भए पनि खासै सहमति बनेको थिएन । आजको बैठकले नै आउँदो आइतबार पार्टी एकता सम्भव रहेको वा नरहेको विषय टुंग्याउने पनि एमाले निकट स्रोतले जनाएको छ ।

एमालेको साेमबार बसेको स्थायी कमिटी बैठकले माओवादीसँगको अविश्वास हटाएर ९ वैशाखमै पार्टी एकता घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको छ । बैठकले आउँदो आइतबार नै पार्टी एकताको निर्णय गर्ने म्यान्डेट पार्टी एकता संयोजन समितिलाई दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !