१३ पुस २०८१, शनिबार

डीपीएलको उपाधि टिम चौराह धनगढीलाई


DPL 2

३० चैत, काठमाण्डौ । टिम चौराह धनगढीले धनगढी प्रिमियर लिगको उपाधि जितेको छ । फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहाले उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ गरेको धनगढीले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८१ रन बनायो ।

सुरुवात भने राम्रो गर्न नसकेको धनगढीले १२ रन हुँदा राम्रो फर्ममा नभएका विदेशी खेलाडी अस्फाक अहमदलाई ४ रनमा गुमायो । प्याराफिट खचाखच भरिएपछि धेरै दर्शकले प्रत्यक्ष खेल हेर्न टिकट पाएका थिएनन् ।

घरेलु दर्शक माझ धनगढीले निकै राम्रो ब्याटिङ गर्‍याे । दोस्रो विकेटका लागि सुनिल धमला र रोहन मुस्तफाले एक सय ४२ रनको साझेदारी गर्दै टिमलाई बलियो बनाए ।

डीपीएलमा यी दुई खेलाडीको यो साझेदारी अहिलेसम्म कै उच्च हो । चौराहाको स्कोर एक सय ५४ रन हुँदा दोस्रो विकेट झर्यो । रोहन मुस्तफाले ४२ बलमा ६० रन बनाए । प्रतियोगितामा पहिलो अर्धशतक बनाउने क्रममा रोहनले चार चौका र चार छक्का प्रहार गरे ।

तर त्यसको लगत्तै क्रिजमा आएका सोनु तामाङ पनि आउट भएपछि चौराहाले एक सय ५५ रनमा तेस्रो विकेट गुमायो । जारी प्रतियोगितामा रोहन सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहे ।

चौराहलाई बलियो लक्ष्यतर्फ अगाडि बढाउन सुनिल धमलाले ७८ रन बनाए । उनले ६२ बलमा आठ चौका र तीन छक्का प्रहार गरे । बलिङतर्फ सुबोध भाटीले दुई विकेट लिए । उसले ३१ अतिरिक्त रन दिएको थियो ।

जवाफमा काठमाडौं २० ओभरमा ८ विकेट गुमाउँदा एक सय ६० रनमा रोकियो । उसले पनि सुरुवात राम्रो गर्न सकेन । १२ रन हुँदा पहिलो विकेट गुमाएको काठमाडौंका ओपनर सुबोध भाटी मात्र ५ रनमा आउट भए ।

त्यसपछि दोस्रो विकेटका लागि अमित श्रेष्ठ र पुष्प थापाले काठमाडौंको पारीलाई सम्हाल्ने प्रयास गरेपनि पुष्प मात्र १५ रनमा आउट हुँदा ६६ रनमा अर्को विकेट खेर फाल्यो । ठूलो लक्ष्य पक्ष्याएको काठमाडौंको स्कोर ८५ रन हुदा अमित श्रेष्ठ व्यक्तिगत ५८ रनमा आउट भएपछि तेस्रो विकेट गुमायो ।

प्रतियोगितामा अमित सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन । उनले सात खेलमा दुई सय ४२ रन बनाए । जसमा उनको उच्च स्कोर ८१ रन रह्यो । त्यसपछि काठमाडौंको स्कोर एक सय २१ रन हुँदा कप्तान ज्ञानेन्द्र मल्ल व्यक्तिगत ३० रनमा आउट भए ।

पछिल्लो पटक राम्रो लयमा नदेखिएका मल्लले यो प्रतियोगिताबाट उत्कृष्ट कमब्याक गरेका छन । सात खेलमा मल्लले दुई सय ४८ रन बनाए । निकै प्रतिस्पर्धात्मक रुपमा अगाडी बढेको काठमाडौंले एक सय ५५ रन पाचौँ विकेट गुमायो । नरेश बुढाऐर १९ रनमा पेभेलियन फर्किए ।

तर १९ औ ओभरमा रोहन मुस्तफाले दुई खेलाडीलाई आउट गरेपछि चौराहले खेल आफनो पक्षमा पार्‍याे । रोहनले भरपर्दा खेलाडी सन्नी पटेललाई २२ रनमा बोल्ड गरे भने रासिद खानलाई मात्र २ रनमा बोल्ड गरे ।

चौराहले घरेलु मैदानमा भएका तीन वटा प्रतियोगिताको उपाधि जितेको छ । दुई वर्ष अगाडि धनगढी क्रिकेट लिगको उपाधि जितेको चौराहले अघिल्लो वर्ष डीपीएलको पहिलो सस्करणको च्याम्पियन बनेको थियो । यसपटक पनि उसले उत्कृष्ट रुपमा उपाधि कब्जा गर्न सफल भयो । उपाधिसँगै चौराहले २५ लाख रुपैयाँ प्राप्त गरेकाे छ ।  उपविजेतामा  चित्त बुझाएकाे काठमाडौं गाेल्डेन्सले १० लाख रुपैयाँ प्राप्त गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !