११ आश्विन २०८१, शुक्रबार

नेपाल–भारत प्रबुद्ध समूहको महत्वपूर्ण बैठक आज बस्दै


EPG

२९ चैत, काठमाण्डौ । नेपाल भारत प्रबुद्ध समूह ईपीजीको आठौ बैठक बिहीबारदेखि सुरु हुँदैछ । भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार र शुक्रबार बस्ने बैठकमा दुवै देशका सरकारलाई बुझाउने प्रतिवेदनलाई अन्तिम रुप दिनेबारे छलफल हुनेछ ।

यसअघि नेपालमा बसेको समूहको सातौं बैठकमा पनि प्रतिवेदनलाई अन्तिम रुप दिनेबारे छलफल भएको थियो । बैठकले दुई देशको सम्बन्धलाई समयानुकुल सुदृढ र प्रभावकारी बनाउन आवश्यक बुँदासहितको प्रतिवेदनको खेस्रा आदानप्रदान भएको थियो ।

आठौं बैठकमा त्यसमाथि दुवै देशका प्रतिनिधिले थप छलफल गर्ने र संशोधन राख्ने तयारी रहेको ईपीजीका एक सदस्यले जानकारी दिएका छन् । सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत नेपाल र भारतबीच भएका अरु सन्धि सम्झौताको पुनरावलोकन र तिनीहरुको संशोधनका विषयमा दुवै देशका सरकारलाई सुझाव दिने समूहले तयारी गरिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगत्तै बस्न लागेको ईपिजीको बैठकले महत्वपूर्ण सहमति गर्ने आशा गरिएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सन् १९५० को सन्धिको पुनरावलोकनलगायत विषयमा ईपीजीको प्रतिवेदनलाई आधार मान्ने सहमति भएकाले पनि ईपीजीको बैठक र प्रतिवेदनको महत्व झनै बढेको छ ।

समूहले आगामी जुलाई २० तारिखसम्ममा आ–आफ्ना सरकारलाई प्रतिवेदन बुझाउनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !