१२ पुस २०८१, शुक्रबार

टिम चौराह डीपीएल क्रिकेटको फाइनलमा


DPL 2

२७ चैत, कैलाली । टिम चौराह धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको फाइनलमा पुगेको छ । धनगढीमा मंगलबार भएको रोमाञ्चक खेलमा काठमाडौं गोल्डेन्सलाई १ विकेटले हराउँदै घरेलु टोली फाइनलमा पुगेको हो ।

जितका लागि १ सय २८ रनको लक्ष्य पाएको धनगढीलाई तिजका लागि अन्तिम २ बलमा ६ रन चाहिएको थियो । नवौँ विकेट झरेपछि ब्याटिङमा आएका मोहमद सम्साद शेखले पहिलो बलमा नै छक्का हान्दै टिमलाई विजयी बनाएका हुन् । उनले रसिद खानको बलमा छक्का हानेका थिए । धनगढीका लागि रोहन मुस्ताफाले ३३ तथा शंकर रानाले २८ रन बनाएर जितको आधार तयार पारेका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको अवसर पाएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३८ तथा अमित श्रेष्ठले ३६ रन बनाए । जारी प्रतियोगितामा काठमाडौंको यो पहिलो हार हो । यो हारपछि पनि काठमाडौंको फाइनल पुग्ने संभावना कायम छ ।

महेन्द्रनगर युनाईटेड र सीवाईसी अत्तरीयाबीचको विजेतासँग फाइनल प्रवेशका लागि काठमाडौंले फेरि खेल्नु पर्ने छ । महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरियाबीचको खेल पनि आजै १ बजे हुने छ । यो खेलमा पराजित हुने टिम भने प्रतियोगिताबाट बाहिरिने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !