२७ चैत, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले केही दिनअघि सार्वजनिक गरेको श्वेतपत्रलाई अबौद्धिक र अव्यवसायिक मुचुल्का रहेको ठहर गरेको छ ।
श्वेतपत्रबारे सोमबार औपचारिक धारणा सार्वजनिक गर्दै काङ्ग्रेसले अर्थतन्त्रको सकारात्मक सबै बिर्सेर कतिपय कमजोरीको अतिरञ्जनापूर्ण प्रस्तुति गरिएको भन्दै कडा आलोचना गरेको हो । पार्टी मुख्यालय सनेपामा पत्रकार सम्मेलन गरी श्वेतपत्रबारे धारणा सार्वजनिक गर्ने क्रममा काङ्ग्रेसले पछिल्लो २५ वर्षमा ६२ गुणाले राजस्व बृद्धि भएको तथ्यलाई श्वेतपत्रले उठाउन नचाहेको आरोप लगाएको छ ।
श्वेतपत्रले निश्चित कालखण्डको अर्थतन्त्रको अवस्थालाई इमान्दार रुपले प्रस्तुत नगरेको पनि काङ्ग्रेसको आरोप छ ।
पछिल्लो १० वर्षमा देशको अर्थतन्त्र धेरै बिग्रिएको भनेर श्वेतपत्रले भन्दा त्यस अवधिमा अधिकांश समय कम्युनिष्ट प्रधानमन्त्री वा कम्युनिष्ट अर्थमन्त्रीले नेतृत्व गरेको सत्यलाई बिर्सिएको काङ्ग्रेसको ठहर छ ।