४ आश्विन २०८१, शुक्रबार

भारतीय नेताहरुको एक स्वर : ओलीको भारत भ्रमण सफल र फलदायी


rajnath-singh (1)

नयाँ दिल्ली, २५ चैत । भारतीय नेताहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने राजकीय भारत भ्रमण अत्यन्तै फलदायी र सफल भएको प्रतिक्रिया दिएका छन् ।

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानी गर्दै भारतीय सत्तारुढ दल र प्रतिपक्षी दुवै दलका प्रभावशाली नेताहरुले यस्तो प्रतिक्रिया दिएका हुन् ।

भारतीय गृहमन्त्री राजनाथ सिंहले धमलासँगको कुराकानीमाभने,‘ओलीजीको भ्रमण सफलभयो, यो भ्रमणसँगै अब नेपालमा विकास र समृद्धिको ढोका खुलेको छ । भ्रमण कोशेढुँगा सावित भएको छ, म त निकै खुशी र उत्साही छु ।’

उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा देखिएका सबैखाले असमझदारी पनि यो भ्रमणसँगै हटेको विश्वास दिलाए । मन्त्री सिंहले नेपालको प्रगतिको लागि भारतले सदैव सहयोग गर्दै आएको र आगामी दिनमा पनि झनै सहयोग बढाउने वचन दिए ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अरुण तेस्रोको शिल्यान्यास गर्न छिट्टै नेपाल भ्रमणमा जाने पनि जानकारी दिए । उनले नेपाल र भारत छिमेकीमात्रै नभई भ्रातृत्व, मैत्री एवं सदाचारको धनीसमेत रहेकाले एक–अर्काको चासो र चिन्तालाई सम्बोधन गरेर अगाडि जान ओलीको भ्रमणसँगै मार्ग प्रशस्त भएको स्पष्ट पारे ।

त्यस्तै नागरिक उड्यनमन्त्री सुरेश प्रभुले पनि प्रधानमन्त्री ओलीको भ्रमण सफल र फलदायी भएको टिप्पणी गरे । भ्रमणको क्रममा ओलीको प्रस्तुति लोभलाग्दो भएको उनले जनाए ।
नेपालमा छिट्टै रेलमार्ग र जलमार्गको निर्माण हुने र कृषिमा क्रान्ति गर्ने समेत उनको विश्वास थियो । प्रभुले भने,‘नेपालले अब विकास गर्छ । आफू पर्यटनमन्त्री भएको नाताले नेपालको धार्मिक–पर्यटनको विकासमा सहयोग पुर्याउने पनि उनले प्रतिबद्धता जनाए ।
धमलासँगको कुराकानीमा उनले नेपालमा वार्षिक १५ लाख भारतीय पर्यटकहरु पठाउने पनि बताए ।

कानून, न्याय, विद्युत तथा प्रविधि मन्त्री रवि शंकर प्रसादले प्रधानमन्त्री ओलीको तीनदिने नेपाल भ्रमण फलदायी भएको विश्वास दिलाए । उनले ओलीको भ्रमण नेपाल–भारत द्धिपक्षीय सम्बन्धलाई नयाँ आयाममा पुर्याउन कोशेढुँगा सावित भएको जनाए ।

भाजपाका महासचिव राममाधवले पनि ओलीको भ्रमणले द्धिपक्षीय सम्बन्धमा नयाँ अध्याय र आयामहरु थपिदिएको प्रतिक्रिया दिए ।

उनले भने,‘ऋषिजी तपाई आँफै भ्रमणमा हुनुहुन्छ, नेपालको राजनीतिक विषयप्रति हाम्रो कुनै चासो छैन, किनकी राजनीतिक विषय नेपालले आँफै सेटल गरिसकेको छ।’ उनले भारतीय प्रधानमन्त्री मोदी छिट्टै नेपाल भ्रमणमा जाने पनि जनाए । भारतले चाँडोभन्दा चाँडो वीरगंजहुँदै काठमाडौंसम्म रेल पुर्याउने पनि विश्वास दिलाए ।

त्यस्तै कंग्रेस आईका महासचिव द्धिगविजय सिंहले आफूहरुले पहिले पनि नेपालमा विकासको युगको सुरु हुनुपर्छ भनेको र अहिले पनि त्यो चाहना यथावत रहेको सुनाए ।
उनले भने,‘यसपटक मोदीजीले आफूलाई परिवर्तन गर्दै नेपाललाई सहयोग गर्छौं भन्नुभयो, हामी उहाँको प्रतिबद्धतामा समर्थन गर्छौं । नेपालका प्रधानमन्त्रीको भ्रमणबाट हामी खुशी छौं । ओलीजीसँग हाम्रो अध्यक्ष राहुल गान्धी र पूर्व प्रधानमन्त्री मनमोहन सिंहले भेट्नुभयो । हामी त उहाँको भ्रमणबाट निकै खुशी छौं।’

भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादका महासचिव सिताराम यचुरीले पनि ओलीको भारत भ्रमणसँगै नेपाल र भारतबीचको सम्बन्धमा नयाँ अध्याय सुरु भएको बताए । उनले भने,‘यो भ्रमणले नेपाल र नेपालीहरुको मात्रै होईन, भारतीयहरुको पनि मत जितेको छ, उहाँको भ्रमण सफल र फलदायी भएको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !