२० असार २०८१, बिहिबार

विराट गोल्डकप : झापालाई हराउँदै आर्मी फाइनल प्रवेश


फुटबल

२४ चैत, माेरङ्ग ।  विभागीय टिम त्रिभुवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

विराटनगर को सहिद रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा झापा ११ लाई १–० गोल अन्तरले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । उपाधिका लागि आर्मीले आउँदो सोमबार संकटा क्लब र थ्रीस्टारबीचको विजेतासंग फाइनल प्रतिष्पर्धा गर्नु पर्ने छ । आर्मीको जितमा विमल पाण्डे नायक बने । ६८ औं मिनेटमा भरत खवासले प्रहार गरेको कर्नरलाई हेडमार्फत वायाँ बार च्याप्दै पाण्डेले पोष्टको दिशा दिँदा झापा दबाबमा पर्यो ।

दर्शकको भारी समर्थन पाएको झापाले ४२ औं मिनेटमा गोरक्षक मनोज प्रधानका ठाउँमा किरण चेम्जोङलाई मैदानमा लगे पनि उनले आर्मीको प्रहार रोक्न सकेनन् ।

क्वार्टरफाइनलमा आर्मी अर्को विभागीय टिम नेपाल पुलिस क्लब र झापा छिमेकी टिम रिजालको मोरङ–११ लाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका थिए ।

खेलको म्यान अफ दी म्याच घोषित भएका आर्मीका कप्तान भरत खवासले १० हजार नगद पुरस्कार पाए ।
शनिबारको दोस्रो सेमिफाइनल खेलमा संकटा क्लब र थ्रीस्टारबीच प्रतिष्पर्धा हुने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !