२० असार २०८१, बिहिबार

रुपन्देही च्यालेञ्जर्स डीपीएलबाट बाहिरियाे


DPL

२३ चैत, रुपन्देही । रुपन्देही च्यालेञ्जर्स धनगढी प्रिमियर लिगबाट बाहिरिएको छ । बिहीबार भएको खेलमा महेन्द्रनगरसँग चार विकेटले पराजित भएपछि रुपन्देहीको यात्रा लिग चरणमा नै सकिएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा ८ विकेट गुमाउदै एक सय ४४ रन बनाएको थियो । ११ रन हुँदा पहिलो विकेट गुमाएको टिमका पारीलाई प्रदिप ऐरी र कुशल मल्लले सम्हाल्ने प्रयास गरेका थिए ।

उनले दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए । तर कुशल १५ रनमा आउट भए । त्यसपछि प्रदिप ऐरी पनि ३९ रनमा आउट भएपछि रुपन्देहीले ६३ रनमा तीन विकेट गुमायो ।

उसका लागि दिपकप्रसाद १७ रन बनाए भने खेलमा मिडिल अडरमा आएका सागर पुनले २८ रनको योगदान गरे । तर त्यसपछिका खेलाडीले दोहोरो अंक छुन नसक्दा रुपन्देहीले मध्यम स्कोर खडा गर्याे। बलिङतर्फ महेन्द्रनगरका लागि पुनित विष्टले ४ विकेट लिए ।

जवाफमा कप्तान विनोद भण्डारीको उत्कृष्ट ब्याटिङका कारण महेन्द्रनगरले १८ ओभर ५ बलमा ६ विकेट गुमाउदै लक्ष्य पूरा गर्याे। विनोदले ६१ रन बनाए । १७ रनमा दुई विकेट गुमाएको महेन्द्रनगरका लागि विनोद र पुनित विष्टले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गर्न सफल भए ।

विष्टले ४५ रन बनाए भने विनोदले ६१ रनको योगदान गरे । यस्तै पुनित महेराले १६ रन थपे । जितपछि महेन्द्रनगरले तीन खेलबाट चार अंक बनाउदै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !