६ जेष्ठ २०८१, आइतबार

भारत र चिनको सहयोग लिएर अचम्म लाग्ने गरी विकास गर्छौँ : प्रधानमन्त्री ओली


PM Oli

१८ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासमा भारत सँधै सहयोगीको भूमिकामा रहने विश्वास दिलाएका छन् ।

शनिबार राष्ट्रिय सभागृहमा आयोजित रिपोर्टर्स क्लब नेपालको २० औं वार्षिकोत्सव एवम् पुरस्कार वितरण समारोह–२०७४ मा सम्बोधन प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले चैत २३ गतेदेखि आफू भारत भ्रमणमा जान लागेको जानकारी दिँदै उक्त भ्रमणले दुई देशबीचको सहकार्य झनै बढ्ने बताए ।

“म छिटै भारत भ्रमणमा जाँदैछु । हामी एकतावद्ध भएर विकासका बाटामा हिँड्नुपर्छ । हाम्रो सम्बन्ध अझै बढ्ता सुमधुर बनाउनका लागि म भारत जाँदैछु ।” उनले थपे ।

त्यस्तै अर्को छिमेकी मित्रराष्ट्र चीनसँगको सम्बन्ध पनि अत्यन्तै राम्रो भएको बताउँदै ओलीले नेपाललाई सहयोग गर्न चीन तयार रहेको स्पष्ट पारे ।

भारत र चीन दुवैले नेपाललाई सहयोग गर्ने दाबी गर्दै ओलीले नेपाललाई छिमेकीहरुसँग मिलेर समृद्धिको यात्रामा अगाडि बढाउने पनि विश्वास दिलाए ।

“दुई देशसँग सहकार्य गरेर अचम्म लाग्नेगरी विकासको गतिलाई हामी तिब्रता दिन्छौँ । होइन भने, दिगो विकासको लक्ष्य पूरा गर्न सक्दैनाँै।”–ओलीले भने ।

आगामी तीन वर्षभित्रमा कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुनुपर्ने लक्ष्य स्मरण गराउँदै प्रधानमन्त्री ओलीले व्यापार घाटा कम गर्न सकिएन भने लक्ष्य हाँसिल नहुने बताए ।

ओलीले नेपालको व्यापार घाटा अत्यन्तै डरलाग्दो अवस्थामा रहेको सुनाउँदै भने,“हामी अहिले बेच्छौँ सात रुपैयाँको, किन्छौँ ९३ रुपैयाँको । कहाँबाट किन्ने ? यो घाटा इतिहासमै सबैभन्दा बढि नकारात्मक विन्दुमा पुगेको हो । यसलाई केही समयभित्रमा नै सकारत्मक दिशामा लैजान्छौँ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !