१६ असार २०८१, आइतबार

स्थानीय तह सफल भए मात्र देश सफल हुने : प्रम ओली


१७ चैत, काठमाण्डाै ।  प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह सफल भए मात्र देश सफल हुने बताउनुभएको छ ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालको राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक नेतृत्वले सिंहदरबारका अधिकार गाउँमा पुगे भने पनि जनताले त्यो कुरा महसुस गरे कि गरेनन् भन्ने कुरा महत्वपूर्ण हुने बताउनुभयो । ‘सिंहदरबारका अधिकार गाउँमा पुगेको जनताले अनुभुति गर्ने गरी तपाईंहरुले काम गर्नुहोस्’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यसपाली हामीले सरकारका अधिकारको बाँडफाँडको नयाँ अभ्यास गरेका छौं । यसलाई सफल बनाएर जनतालाई संघीयताको सकारात्मक सन्देश दिनुपर्छ ।’

स्थानीय तहमा युवा र महिला जनप्रतिनिधीको संख्या उल्लेख्य भएकोले धेरै काम हुनेमा आफू आशावादी रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘अहिले ५१ प्रतिशत उपाध्यक्ष ४० वर्ष भन्दा मुनिका, एक चौथाई अध्यक्ष ४० वर्ष भन्दा कम उमेर समूहका छन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘४० प्रतिशत जनप्रतिनिधि त महिला नै छन् । यस्तो बेलामा पनि स्थानीय तहको विकास नभए कहिले होला त ?’

प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधिलाई भ्रष्टाचारबाट टाढै रहन निर्देशन दिनु भएको छ । भ्रष्टाचार,कुशासन जस्त कुराबाट अलग रहेर काम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तपाईँहरुलाई टाढाबाट हेर्दा मात्र होइन नजिकबाट हेर्दा पनि दाग नदेखियोस ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !