७ बैशाख २०८१, शुक्रबार

उच्च दरको आर्थिक वृद्धि हाँसिल गर्न भारत र चीनको लगानी अनिवार्य : डा. श्रेष्ठ


१४ चैत, काठमाण्डौ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले प्रधानमन्त्री ओलीको भारत भ्रमणमा लगानीको विषयमा विशेष कुरा हुने विश्वास दिलाए । उनले भने,‘आजको दिनसम्म हेर्दा, नेपालमा भारत र चीनको बढि लगानी छ, अब पनि हामीले लगानीमा जोड दिनुको साथै लगानी कुन क्षेत्रमा कसरी ल्याउने भन्नेबारेमा नै विशेष महत्व दिनुपर्छ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै श्रेष्ठले नेपालमा समृद्धिको कुरा धेरै सुनिएपनि वर्तमान सरकारको नेतृत्वमा त्यो सम्भव हुने कुरामा आफू विश्वस्त रहेको सुनाए । उनले भने,‘सुशासन, आर्थिक समृद्धि, आर्थिक वृद्धिका कुराही हामीले सून्दै आएका कुरा हुन्, वाम गठबन्धनको नेतृत्वमा बनेको वर्तमान सरकार झण्ड दुई तिहाईले गठन भएको छ, प्रधानमन्त्री ओलीलै सानो, चुस्त र दुरुस्त मन्त्रिमण्डल गठन गर्नुभएको छ, अत्यन्तै सुझबुझका साथ विज्ञ र क्षमतावान व्यक्तिलाई मन्त्री बनाउनुभएको छ, उहाँले बलियो र अनुभवी टिम बनाउनुभएको छ, यो नै राम्रो संकेत हो।’

उनले एमाले–माओवादीको बाम गठबन्धनमा सम्मिलित कार्यदलले चुनावमा जनतासामू प्रतिबद्धता व्यक्त गरेका घोषणाहरुलाई कसरी कार्यान्वयन गर्ने भनेर डिटेल रोडम्याप बनाएर बुझाईसकेको पनि सुनाए । उनले प्रधानमन्त्री ओलीले देखेको भीजन पूरा गर्ने बेला आएको पनि बताए ।

उनले थपे,‘मुलुकमा स्थायित्व आएको छ, सरकारले भ्रष्टाचारलाई नसहने मेसेज दिईसकेको छ, अब काममा ढिलासुस्ती हुनुभएन्, यसो गर्न सकियो भने वैदेशिक लगानी पनि बढ्छ, अब संघीय संरचनाअनुसार कर्मचारीको व्यवस्थापन गर्नुपर्छ, जुन अहिले अलिकति ढिलासुस्ती देखिएको छ, कानून बन्न बाँकी नै छ, अब कर्मचारी कार्यक्षेत्रमा जान अनावश्यक ढिलाई गर्नुहुँदैन्।’

श्रेष्ठले वर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अत्यन्तै अनुभवी, लोकप्रिय र भिजनरी नेता भएकोले कर्मचारी व्यवस्थापन पनि चाँडै हुनेमा आफू विश्वस्त रहेको सुनाए । सरकारले नीति तथा कार्यक्रम छिट्टै सार्वजनिक गर्नेपनि उनले जनाए । त्यस्तै एक दुईदिनभित्रै सरकारले स्वेतपत्र जारी हुने पनि उनको भनाई थियो ।

उच्च दरको आर्थिक वृद्धि हाँसिल गर्न भारत र चीनको, र अन्य देशको लगानी आवश्यक रहेको उनले स्पष्ट पारे । समृद्धि हाँसिल गर्नेगरि सरकारले आफ्ना पाईलाहरु चाल्नुपर्ने उनको सुझाव थियो ।

प्रधानमन्त्रीले भारत भ्रमणमा लगानी बढाउनेगरि कुरा गर्नुपर्छ : डा. शर्मा

पूर्वराजदुत एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा लगानीको विषयमा कुरा गर्नुपर्नेमा जोड दिए ।

कलकता र विसखापटन बन्दरगाहा निर्वाद रुपमा चल्नुपर्ने शर्माको भनाई थियो । उनले नेपाल आफ्नो प्राथमिकतामा चुक्न नहुने धारणा राखे । उनले भारतीय सामानहरु नेपाल दुई दिनभित्रै आउन सक्ने वातावरण बनाउनुपर्ने र नेपालका सामानहरु बढिभन्दा बढि भारत निर्यात गर्नतिर जोड दिनुपर्ने बताए ।

लगानी भन्ने कुरा पानीजस्तै भएकोले आगामी दिनमा नेपालले उद्योग, कलकारखाना खोल्नको लागि र सञ्चालनको लागि कम्प्युटराईज्ड गर्नतिर ध्यान दिनुपर्ने उनको सुझाव छ । उनले भने,‘अब हामीले अनलाईन सेवामा केन्द्रित हुनुपर्छ, फाईल लिएर कर्मचारीसँग पुग्न नपरोस्।’

चीन र भारत नेपालका असल मित्रराष्ट्र भएकोले नेपालले अब दुवै छिमेकी मित्रराष्ट्रसँग निर्यात बढाउनुपर्ने पनि उनले सुझाए । उनले भने,‘नेपालबाट निर्यात १ रुपैयाँको हुँदा आयात १४ रुपैयाँको छ, अब हामीले निर्यात बढाउनुपर्छ।’

नेपालको आर्थिक वृद्धिदरको आधार नै कषि, जलस्रोत, पर्यटन भएकोले सरकारले यही अनुसार आफ्ना प्राथमिकताहरु अघि बढाउनुपर्ने सुझाव दिए । यद्धपी उनले प्राथमिकतामा राखिएका कार्यक्रमहरु कार्यान्वयन नभएकोले अब त्यतातर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले कृषिमा २१ प्रतिशत जमिनमा वर्षैभरि खेति हुने भएकोले अब यसलाई बढाएर ५० प्रतिशत पुर्याउनुपर्ने बताए । ‘यसले गर्दा प्रदेश नम्बर २ को समृद्धि हाँसिल गर्न मद्दत पुग्छ।’–उनले भने । शर्माले ७ वटै प्रदेशमा उद्योग तथा कलकारखाना खोल्ने उद्देश्यले करिब ७ हजार बिघा जमिन तयारी अवस्थामा रहेकोले यसको लागि बाटो घाटोमा जोड दिनुपर्ने बताए ।

उनले नेपालले यो आगामी चार वर्षभित्रै नीजगढ अन्र्तराष्ट्रिय विमानस्थल बनाईसकेर प्लेन ल्याउनुपर्नेमा जोड दिए । त्यस्तै भैरहवा र पोखराको विमानस्थल पनि पनि चाँडै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

शर्माले मुलुक संघीय संरचनामा गएकोले खर्च ३०० देखि ३५० अर्बसम्म प्रत्येक वर्ष थपिने भएकोले सरकारले पुँजीगत खर्च बढाउनुपर्नेमा जोड दिए । उनले थपे,‘पुँजीगत खर्च हुन सक्दैन, अत्यन्तै कम छ, अब यसलाई बढाउनुपर्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !