३ आश्विन २०८१, बिहीबार

भारत भ्रमणमा प्रधानमन्त्रीले थोरै विषयमा धेरै उपलब्धि हुनेगरि कुरा गर्नुहुन्छ : डा. भट्टराई


Rajan Bhattarai

१४ चैत, काठमाण्डौ । नेकपा एमालेका नेता एवम् नेपाल–भारत प्रवुद्ध समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा आर्थिक विषयमा विशेष कुराकानी हुने विश्वास दिलाएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता भट्टराईले उनले भने,‘प्रधानमन्त्रीले भारत भ्रमणको बेला थोरै विषयमा धेरै उपलब्धि हुनेगरि कुरा गर्नुहुन्छ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालमा लगानी गर्नेबारे प्रधानमन्त्री ओलीले थोरै विषयमा धेरै महत्वपूर्ण उपलब्धि हाँसिल गर्नेगरि कुरा गर्नुहुन्छ।’

भट्टराईले प्रधानमन्त्री ओलीको निकट भविष्यमा हुने भारत भ्रमणमा आपसी हितका विषयमा विशेष महत्वका साथ कुरा हुने विश्वास दिलाए । उनले भने,‘वर्तमान सरकार छिमेकीसँग सम्वाद र सुमधुर सम्बन्ध बनाउन चाहाँन्छ, आजको अन्र्तराष्ट्रिय मूल्य र मान्यता अनुसार नै नेपालले आफ्ना सम्बन्धलाई बढावा दिन्छ, यही दृष्टान्तसहित हामी नेपाल–भारत र नेपाल–चीन सम्बन्धलाई अघि बढाउँछौं, समृद्धि हाँसिल गर्ने बाटोतर्फ अघि बढ्छौँ, प्रधानमन्त्रीको भारत भ्रमणसँग विगतमा भएका तितामिठा कुराहरुको अन्त्य हुनेछ, अब हामी पारस्परिक हित र सम्मानका साथ अघि बढ्छौं, एक अर्काको जायज चासोलाई सम्बोधन गर्छौं, यही उचाईसहितको सम्बन्ध अघि बढाउन हामी पूर्ण प्रतिबद्ध छौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा तय गर्न अहिले आन्तरिक गृहकार्य समेत सुरु भैसकेको जनाए ।

उनले भने,‘सरकारले आवश्यक गृहकार्य थालिसकेको छ, भारतसँग हामीले खासगरेर पूर्वाधार विकासमा जोड दिएका छौं, यसैगरि हवाई, विद्युत, जलस्रोत, कृषिसम्बन्धी जोडिएका विषयमा पनि कुरा हुन्छ, भारतसँग हाम्रो बहु–आयामिक सम्बन्ध छ, त्यसैले थुप्रै विषयमा चलफल हुनेगरि अहिले नेपालमा भ्रमणको तयारी भैरहेको छ, प्रधानमन्त्रीको दृष्टिकोणपनि धेरै कुरामा हात हाल्नेभन्दापनि महत्वपूर्ण विषयामा मात्रै कुरा राख्ने रहेको छ, यो विषयबारे भारतीय पक्षलाई समेत जानकारी भैसकेको छ, बरु समयसिमाभित्रै आयोजनाहरु सम्पन्न गर्न विशेष केन्द्रित रहेर कुराकानी हुन्छ।’

भारतीय लगानी नेपाल भित्र्याउने कुरा त झनै महत्वपूर्ण भएको उनको भनाई थियो । उनले भने,‘अब उचित समय आएको छ, हामीले आर्थिक समृद्धिको यात्रालाई अघि बढाउनको लागि हामीले आफ्ना प्राथमिकता राखेर मित्रराष्ट्रहरुसँग छलफल अघि बढाउँछौं, हिजोमात्रै पनि प्रधानमन्त्रीले नेपालस्थित् विदेशी नियोगका प्रमुख र दातृ निकायका अधिकारीहरुसँग छलफल गर्नुभएको छ, हामी हाम्रा प्राथमिकताहरु अघि सारेर नै बढ्छौं।’

नेता भट्टराईले चीन र भारतको आर्थिक विकासबाट नेपालले फाईदा लिनुपर्नेमा जोड दिए । ‘चीनीयाँ लगानी अहिले बेलायत, आईसल्याण्ड, फ्रान्स, जर्मनीमा पुगेको छ, हामीले नेपालमा किन नल्याउने ?’ उनले प्रश्न गरे । त्यस्तै उनले भारतीय लगानी मलेसिया, थाईल्याण्ड, भियतनाम लगायतका अन्य देशमा भैरहेकोले अब नेपालमा पनि बढोत्तरी गर्नुपर्नेमा जोड दिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री ओलीबीच माथिल्लो तहमा छलफल भएर नै नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा देखिएका समस्याहरुलाई हल गर्न प्रवुद्ध व्यक्ति समूह (ईपिजी) गठन भएकोले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यो विषयमा चर्चा हुनु स्वभाविक भएको तर्क उनले गरे । यद्धपी उनले आफूहरु स्वयम् नै यतिवेला ईपिजीमार्फत प्रतिवेदन तयार पार्न सघन छलफलमा रहेको जनाए ।

नेता भट्टराईले वाम गठबन्धनले चुनावी घोषणापत्रमा अघि सारेका कुराहरुलाई कार्यान्वयन गर्ने पनि विश्वास दिलाए । उनले भने,‘संविधान संरक्षण गर्ने र फुल फ्लेज्डमा कार्यान्वयन गर्ने, विकास र समृद्धिको यात्रा अघि बढाउने नै हो, र सुशासन कायम गर्दै अघि बढ्ने हो।’ नेपालले प्राथमिकतामा राखेका विषयलाई पूरा गर्नको लागि सोही अनुसार विदेशमा रहेका नेपाली कुटनीतिक नियोगलाई चलायमान बनाउने सरकारको दृढता रहेको उनले सुनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !