१२ बैशाख २०८१, बुधबार

बजारमा बियरिस ट्रेण्ड, नेप्से २६ महिनाकै न्यून विन्दूमा


Bearish Market

१२ चैत काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले विराटनगरमा गएर सेयर बजारको बिषयमा दिएको नकारात्मक अभिव्यक्तिको प्रभावले बजारमा ठूलै पहिरो गएको छ । सोमबार नेप्से परिसूचक ५१.८९ अंकले घटेर ११६८.५५ विन्दूमा सीमित बन्न पुगेको हो । बियरिस ट्रेण्डका कारण नेप्से परिसूचक घटेर २६ महिनाअघिको न्यून विन्दूमा झरेको छ ।

कारोबार सुरु भएको पहिलो एकघण्टामै नेप्से परिसूचक ३ प्रतिशतले घटेपछि सर्किट ब्रेकर लगाई कारोबार १५ मिनेटका लागि स्थगन गरिएको थियो । ११.५५ मा खुलेको बजार केही समयसम्म सम्हालिन खोजे पनि फेरि बियरिस ट्रेण्ड हाबी भई उच्च अंकले बजार घट्न पुुगेको हो ।

बजारमा राम्रा कम्पनीहरुको सेयरमा उच्च बिक्री चाप देखिएको छ । यहीकारण एकैदिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १०.७६ अंकले घटेको छ । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ३.३८ अंकको गिरावट देखिएको छ ।

उच्च बिक्री चाप भएका कारण कारोबार रकम ४७  करोड ३३ लाख माथि पुुगेको छ । १५७ कम्पनीको सेयर कारोबार भएको यो दिन २ वटा कम्पनीले मात्र कमाएका छन् भने बाँकी १५५ कम्पनीले ठूलो अंकमा सम्पत्ति गुमाएका छन् ।

यो दिन बजारका सबै समूहको सूचकमा पहिरो गएको छ । बैकिङ समूह ४१.९८ अंकले घटेको छ भने बिमा, विकास बैंक, माइक्रोफाइनान्स र बित्त समूहमा क्रमशः ३८३.९२, ५१.२७, ७५.५२ र ४.७२ अंकले घटेका छन् । यस्तै, होटल समूहमा ८१.३४, जलविद्युतमा ६९.४९, उत्पादनमूलकमा ६०.९५ र अन्य समूहमा २१.९४ अंकको पहिरो गएको छ ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन १ सय ५७  कम्पनीका १५ लाख ५८ हजार ८ सय ४ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले कारोबार गरेको छ । यो कम्पनीले ५ करोड ४८ लाख बढीको सेयर कारोबार गर्यो । यस्तै, इन्भेष्टमेन्ट बैंकले २ करोड ३८ लाख, नेपाल बैंकले २ करोड २५ लाख, राष्ट्रिय बिमा कम्पनी लिमीटेडले २ करोड २४ लाख, नवील बैंकले १ करोड ५८ लाख, बैंक अफ काठमाण्डूले १ करोड ४२ लाख, एनसीसी बैंकले १ करोड ३४ लाख, एभरेष्ट बैंकले १ करोड २१ लाख, एनबी बैंकले १ करोड २० लाख र नागरिक लगानी कोषले १ करोड १७ लाख बढीको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
बजार घटेर चौपट हुँदा समेत प्रोग्रेसिभ फाइनान्स र स्वदेशी लघुवित्त बित्तीय संस्थाका लगानीकर्ताले कमाए । प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ भने स्वदेशी लघुवित्तका लगानीकर्ताले २ प्रतिशतको हाराहारीमा कमाएका छन् ।

बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा घटेको छ । ६ कम्पनीको मूल्य ९ प्रतिशतको सेरोफेरोमा घटेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !