१२ बैशाख २०८१, बुधबार

नेप्से सूचक दोहोरो अंकले घट्दा कारोबारमा सुधार


Bearish Market

६ चैत, काठमाण्डौ  । साताको तेस्रो दिन मंगलबार पनि शेयर बजार परिसुचक नेप्से घटेको छ । साताको पहिलो दिन आइतबार ९ अंकले घटेको बजार सोमबार ८ अंकले घटेको थियो । यसदिन बजार १५ दशमलव ०५ अंकले १ हजार २ सय ५५ दशमलव ४७ अंकको बिन्दुमा पुगेको हो ।

मंगलबार परिसुचक घटेपनि कारोबार रकम भने सोमबारको तुलनामा बढेको छ । सोमबार २६ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको बजारमा आज १५९ कम्पनीको ३२ करोड ८९ लाख १६ हजार ४३९ रुपैयाँको शेयर किनबेच भएको हो ।

यसदिन कारोबारमा आएका होटल बाहेकका सबै समूहमा गिरावट आएको छ । जसमध्ये सबैभन्दा बढी बीमा समूह १५२ दशमलव १८ अंकले घटेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन समूह ४३ दशमलव ५७ अंकले, जलविद्युत समूह २० दशमलव ४५ अंकले, लघुवित्त समूह २० दशमलव ३६ अंकले, विकास बैंंक समूह १५ दशमलव २३ अंकले, बैंकिङ समूह ९ दशमलव ७९ अंकले, फाइनान्स समूह ८ दशमलव ९७ अंकले र अन्य समूह ७ दशमलव ०८ अंकले घटेको छ ।

मंगलबार नेप्सेमा उच्च कारोबार हुनेमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लगातार अग्रस्थानमा रहेको छ । सोमबार ३ करोडभन्दा बढीको शेयर किनबेच भएको नेपाल लाईफको आज २ करोड ६८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै नबिल बैंकको २ करोड ३७ लाखभन्दा माथि, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक र गोर्खाज फाइनान्सको संस्थापक शेयर एक करोडभन्दा बढी रुपैयाँको किनबे भएको छ ।

२० कम्पनीका लगानीकर्ताले कमाए

शेयर बजार परिसुचक नेप्से १५ अंकभन्दा बढीले गिरावट हुँदा २० कम्पनीका लगानीकर्ताले भने सामान्य कमाएका छन् । जसमध्ये स्वदेशी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक बढी ४ दशमलव ९२ प्रतिशत अर्थात प्रतिकित्ता २४ रुपैयाँले बढेको छ ।त्यस्तै तारागाउँ रिजेन्सीको २ दशमलव ३० प्रतिशतले बढेको छ ।

यता सर्वाधिक गुमाउनेमा भने महिला सहयात्रा माइक्रोफाइनान्सका वित्तीय संस्थाका शेयरधनी रहेका छन् । कम्पनीको शेयर मूल्य ६ प्रतिशतले घटेको छ । सिन्धु विकास, गुडविल फाइनान्स, अरुण भ्याली हाइड्रोपावर लगायतको कम्पनीको शेयर मूल्य पनि ५ प्रतिशतभन्दा बढीले घटेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !