१५ असार २०८१, शनिबार

संविधान संशोधन अपरिहार्य : भट्टराई


baburam bhattarai

६ चैत, लहान । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नभए मुलुकमा अर्काे द्वन्द्वको बीउ रोपिने खतरा रहेको बताउनुभएको छ ।

प्रदेश नं १ र २ का कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमका लागि लहानमा रहनुभएका पूर्वप्रधानमन्त्री डा भट्टराईले आज बिहान आयोजित पत्रकार सम्मेलनमा संविधानप्रति मधेशी जनताको तीव्र असन्तुष्टि रहेकाले यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

‘जातीय एकता कायम गर्दै तत्काल संविधान संशोधन गरे मात्र मुलुकमा दिगो शान्ति स्थापना हुन्छ र त्यसले विकास समृद्धि कायम हुन्छ’ भट्टराईले भने ‘अन्यथा मुलुक फेरि ठूलो द्वन्द्वमा फस्ने खतरा रहन्छ।’ जारी नै नगर्ने र जसरी भए पनि जारी गर्ने दुई अतिवादी प्रवृत्तिलाई चिर्दै अपूर्ण रहेको संविधानलाई संशोधनमार्फत् पूर्ण बनाउनु पर्ने मान्यतासहित अाफूले पनि हस्ताक्षर गरेको उहाँले स्मरण गर्नुभयो । ‘त्यतिबेला संविधानविरुद्ध ‘ब्ल्याक आउट’ गर्नेहरू अहिले हात जोडेर सत्ताको भागबण्डामा लाग्दैछन्’, उहाँले भन्नुभयो, ‘त्यसले संविधान संशोधनको मुद्दा पुनः ओझेल पर्ने त होइन भन्ने आशङ्का बढेको छ।’ मधेशी थारु, आदिवासी जनजाति र खस आर्यसहितको मुख्य क्लस्टरलाई समावेशी समानुपातिक प्रतिनिधित्वसहितको राज्य सत्ता बन्न सके मात्र मुलुकमा दिगो शान्ति स्थापना हुने भन्दै भट्टराईले त्यसका लागि आफ्नो पार्टी लडिरहेको दाबी  गर्नुभयो ।

मधेसी दलका नेतामा अवसरवादी प्रवृत्ति देखिएको आरोप लगाउँदै उहाँले संविधान संशोधन गराउने विषय बोकेर जनताबाट पाएको मतको कदर गर्न उहाँले सुझाव दिनुभयो ।

यसअघि आज बिहान डा भट्टराईले लहानस्थित शहीद उद्यान पुगेर मधेस आन्दोलनको पहिलो शहीद रमेश महतोलगायतका शहीदको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !