समृद्धिका यात्रामा लम्कदै ताराखोला Nepalpatra समृद्धिका यात्रामा लम्कदै ताराखोला
१ आश्विन २०७८, शुक्रबार

समृद्धिका यात्रामा लम्कदै ताराखोला


ताराखोला

बागलुङ । युद्धपछि उठेको थलो हो, ताराखोला । यससँग सङ्घर्षको आफ्नै कथा छ । प्राकृतिक र सांस्कृतिक वैभवयुक्त ताराखोलालाई हिजोको चिनारीले मात्र अब पुग्दैन । अविकसित, गरिबी र पछौटेपनबाट मुक्त हुन ताराखोला सङ्घर्ष गरिरहेको छ । आफ्नै बलबुतोमा समृद्धितिर यात्रारत छ ।

तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र युद्धको रापताप सबैभन्दा बढी यसैले नै झेल्यो । मानव मुक्ति र व्यवस्था परिवर्तनका खातिर यहाँका कैयन व्यक्तिले प्राणको उत्सर्ग गरे । कोही बेपत्ता छन् । कुनैताका युद्धले थिलोथिलो भएको ताराखोला अहिले जुर्मुराएको छ ।

परिवर्तित व्यवस्थाको जगलाई बलियो पार्दै जनतालाई विकास र सुशासनको अनुभूति दिलाउन तल्लीन छ । मुलुकमा तीन तहको शासकीय प्रणाली लागू भएसँगै ताराखोला स्थानीय सरकारका रूपमा गाउँपालिकामा बदलियो । यसलाई त्यसबेला ‘गाउँको सिंहदरबार’समेत भनेर नारा दिइयो । त्यो भनेको सिंहदरबारको अधिकार गाउँगाउँमा पुग्ने भन्ने नै थियो ।

‘गाउँको सिंहदरबार’का रूपमा ताराखोलाले निर्वाह गरेको भूमिकाको समयक्रममा लेखाजोखा त हुँदै जाला तर पनि स्रोतको सीमितता, दक्ष मानव संशाधनको अभाव, भौगोलिक कठिनाइ र नागरिक सशक्तीकरणको कमीका बाबजुद पनि पूर्वाधार विकास तथा नागरिक सेवामा ताराखोलाले मारिरहेको फड्कोलाई स्वीकार्न कठिन छैन ।

स्थानीय तह बनेर जनप्रतिनिधि आएको भर्खर चार वर्ष बितेको छ । शुरुका दुई वर्ष त स्थानीय तहले प्रभावकारी ढङ्गले कामै गर्न सकेनन् । नयाँ व्यवस्था र संरचनामा काम गरेर छोटो अवधिमै नतिजा दिनु चुनौतीपूर्ण त छँदै थियो त्यहीँमाथि लामो समयसम्म कमर्चारी नपाउने, अधिकारको प्रत्यायोजन नहुने समस्या स्थानीय तहले व्यहोरे ।

ऐन, कानूनहरुको प्रबन्ध पनि ढिलो गरी भयो । त्यस किसिमको स्थितिबीच पनि स्थानीय तहले जनताको विकासप्रतिको आकाङ्क्षालाई सम्बोधन गर्न पछि परेनन् । आ–आफ्नो विशिष्ट परिस्थिति, विशेषता र शैलीअनुरुप जनताको सेवामा लागिरहे । ताराखोला पनि तिनैमध्येको एक हो जसले जनतालाई प्रत्यक्ष अनुभूति हुने तहमा ओर्लेर कर्तव्य निर्वाह गरिरहेको छ ।

पूर्वाधारमा फड्को

‘समृद्ध ताराखोला’को लक्ष्यसहित गाउँपालिकाले दुई वर्षअघि प्रथम पञ्चवर्षीय योजना तयार पा¥यो । विज्ञ, परामर्शदातालगायतको सहयोगमा बनेको उक्त आवधिक योजनाअनुसार विकास गतिविधि सञ्चालित छन् । पाँच वर्षका लागि योजनावद्ध विकासको खाका कोरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । ताराखोलाको सपना र भविष्यसँग जोडिएको पञ्चवर्षीय योजनाले ‘आत्मनिर्भर ताराखोला’को लक्ष्यसमेत किटान गरेको छ ।

आवधिक योजनाले तोकेबमोजिम नै विकास योजनाले गति लिएका छन् । समृद्धि हासिल गर्ने पहिलो खुड्किलोका रूपमा पूर्वाधार र संरचना निर्माणलाई ताराखोलाले पनि ग्रहण गरेको छ । सोहीअनुरुप पूर्वाधारका क्षेत्रमा लगानी केन्द्रित छ । सडक, विद्युत्, खानेपानी, सिँचाइसहित शिक्षा र स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने गरी बजेट र कार्यक्रममा प्राथमिकता दिइएको छ । मानव विकास, सामाजिक उत्थान, सशक्तीकरण र संस्कृति संरक्षणका क्षेत्रमा पनि गाउँपालिका उत्तिकै अग्रसर छ ।

सडकतर्फ चक्रपथ निर्माण, गाउँपालिका केन्द्रसम्मको सडक कालोपत्र, अन्य मुख्य सडकको स्तरोन्नति र कालोपत्र योजना अघि बढेको छ । यस्तै गाउँपालिकालाई छिमेकी पालिका र जिल्लासँग जोड्ने सडकलाई पनि विशेष जोड दिइएको अध्यक्ष घर्तीले बताउनुभयो । सडक बोर्डले रणनीतिक सडकका रूपमा लिएको रिजालचोक–अमरभूमि–तारा–म्याग्दी शहीद मार्गलाई गाउँपालिकाले पनि रणनीतिक सडकमार्गका रूपमा स्वीकार गरेको छ । ३५ किमी दूरीको उक्त सडक कालोपत्रका लागि ठेक्का प्रक्रिया अघि बढेको छ । गलकोट नगरपालिका, ताराखोला हुँदै म्याग्दीको रुम जोडिने सडक पनि अहिले धमाधम स्तरोन्नति भइरहेको छ ।

यी दुई रणनीतिक सडकलाई ताराखोलाको ‘लाइफ लाइन’मा रूपमा हेरिएको छ । गाउँपालिकाको आफ्नै लगानीमा पनि सडक विस्तारको काम भइरहेको छ । गाउँपालिकाले वडा नं १ को भुस्कात र अमरभूमि जोड्ने सडक बनाएपछि गाउँपालिका केन्द्र भातखाने डाँडा आउने दूरी छोटिएको छ । बस्ती जोड्ने र गाउँका भित्री सडकमा पनि गाउँपालिकाले काम गरिरहेको छ ।

सङ्घ र प्रदेश सरकारसँगको लागत साझेदारीमा वडा नं १ भुस्कातमा ‘औद्योगिक ग्राम’ निर्माणाधीन अवस्थामा छ । “ग्राम सञ्चालनमा आउँदा स्थानीय स्रोत, सीप र प्रविधिको उपयोग हुनुका साथै गाउँमै उद्यमशीलता विकास र रोजगारी सिर्जना हुनेछ”, उहाँले भन्नुभयो । यही वर्षको अन्त्यसम्ममा ग्राम सञ्चालनमा ल्याइने भएको छ । ताराखोलाको पहिचानका रूपमा चिनिने ‘स्लेट ढुङ्गा’, नेपाली हाते कागज, पेय पदार्थ, जडीबुटी तथा कृषि र पशुजन्य उत्पादनमा आधारित उद्योग सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।

जिल्लामै पहिलो र सबैभन्दा ठूलो सभागृह बनाएर ताराखोलाले अरु स्थानीय तहलाई उछिनेको छ । जबकि सदरमुकाम रहेको बागलुङ नगरपालिकामासमेत व्यवस्थित सभाकक्ष छैन । नगरसभासमेत ‘पार्टी प्यालेस’मा गर्नुपर्ने बाध्यता छ । ताराखोलाले वडा नं २ अर्गलमा ५०० जना क्षमताको सभागृह बनाएको छ ।

रु दुई करोड ६७ लाखमा बनेको सभागृहमा गण्डकी प्रदेश सरकार र गाउँपालिकाको ६०÷४० को लागत साझेदारी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो । मगर बाहुल्य रहेको ताराखोलाले बहुसांस्कृतिक सङ्ग्रहालय निर्माणलाई पनि तीव्रता दिएको छ । परापूर्वकालीन समाज, संस्कृति र जीवनशैलीको झल्को दिने गरी बन्न लागेको सङ्ग्रहालयको ६० प्रतिशत काम पूरा भएको जनाइएको छ । रु दुई करोड १६ लाख बजेटमा निर्माण भइरहेको सङ्ग्रहालयमा पर्यटन मन्त्रालय, सांसद विकास कोष र गाउँपालिकाको संयुक्त लगानी परेको छ ।

ताराखोला जोड्ने मुख्य सडकको तरिम र साँघुबोटमा दुई पक्की पुल यही अवधिमा बनेका छन् । बाँकी पुल बन्ने चरणमा छन् । जिल्लाका अधिकांश स्थानीय तह भाडाका घरबाट चलिरहेका बेला ताराखोला भने आफ्नै भवनबाट सञ्चालित छ । रु पाँच करोड ६० लाखको लागतमा नयाँ प्रशासनिक भवन बनिरहेको छ । प्रदेश सरकारसँगको साझेदारीमा निर्माणाधीन उक्त भवन आउँदो वैशाखसम्ममा सक्ने योजना छ ।

यही वर्ष वडा नं ४ को भवन पनि बनेको छ । सोही वडाको दोगाडीमा गाउँपालिकास्तरीय रङ्गशाला निर्माणाधीन छ । वडा नं ५ को ठूलो हिलेमा पनि नयाँ खेलमैदान बनेको छ । “पूर्वाधातर्फका योजना केही सम्पन्न भए, केही डिपिआर बनेर निर्माणको चरणमा छन्”, अध्यक्ष घर्तीले भन्नुभयो, “शहीद उद्यानसहित पर्यटकीय पूर्वाधारका काम पनि अघि बढाइएको छ ।”

जनयुद्धताका तत्कालीन सरकारी सुरक्षा फौजले चार माओवादी कार्यकर्तालाई हत्या गरेको वडा नं. २ अर्गलको गयार भन्ने स्थानमा शहीद उद्यान बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । पर्यटन मन्त्रालयबाट बजेट ल्याएर उद्यान बनाउने तयारीमा गाउँपालिका छ । माओवादी आन्दोलनमा ताराखोलाका २१ शहीद बनेका थिए भने दुई अझै बेपत्ता छन् ।

वडा नं. ५ को करिमेलालाई पनि ‘ढुङ्गेनी गाउँ’का रुपमा विकास गरी पर्यटक भित्राउने लक्ष्यअनुरुप पूर्वाधार निर्माणलाई अघि बढाइने भएको छ ।

वडा नं. १ मा अवस्थित पर्यटकीय गाईघाट क्षेत्रमा पनि पर्यटकीय पूर्वाधार थपिने गाउँपालिकाले जनाएको छ । सार्वजनिक–निजी साझेदारी अवधारणा अनुसार झरनाछेउ ‘रिसोर्ट’ पनि बन्दैछ । सय रोपनी जग्गामा आउँदो असोजदेखि ‘रिसोर्ट’को काम शुरु हुने जनाइएको छ । त्यसमा गाउँपालिकाको पनि लागत साझेदारी रहनेछ ।

वडा नं. ५ हिले, वडा नं. १ को अमरभूमिलगायतका पर्यटकीय सम्भावनायुक्त स्थलमा पूर्वाधार खडा गरी पर्यटन प्रवद्र्धन गर्ने योजना गाउँपालिकाको छ । पर्यटकीय गतिविधि बढाउनकै लागि गाउँपालिको आर्थिक सहयोगमा वडा नं. २ मा ‘किकल्टा घरवास’ र ५ मा ‘हिले घरवास’ सञ्चालनमा ल्याइएको छ ।

घरवास सञ्चालनका लागि पहिलो वर्ष रु. पाँच लाखका दरले अनुदान उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । यीबाहेक प्रदेश सरकारको अनुदान लिएका दुई घरवास पनि ताराखोलामा सञ्चालित छन् । पर्यटक भित्राउन यसअघि घोषित ‘ताराखोला भ्रमण वर्ष’ भने कोभिड–१९ ले बिथोलिएको थियो ।

व्यवस्थित सडक, पर्यटकीय पूर्वाधार र गन्त्व्यस्थल पहिचान गर्न सके पर्यटनमा पनि ताराखोलाको प्रचुर सम्भावना छ । शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा क्षेत्रमा पनि ताराखोला क्रमिक सुधारतर्फ अग्रसर छ ।

स्थानीय उत्पादनमा अग्रणी

कृषि, पशुपालन र वनजन्य उत्पादनका हिसाबले ताराखोला प्रख्यात छ । तिनको समुचित उपयोग गर्न सके ठूलो आर्थिक लाभ ताराखोलाले उठाउन सक्छ । गाउँलेको जीवनस्तरमा फेरबदल आउन सक्छ ।

कृषितर्फ आलुखेती, पशुपालनमा बाख्रा, भेँडा र भैँसीपालनमा ताराखोला आत्मनिर्भर छ । वनमा आधारित उद्यम विकासको पनि उत्तिकै सम्भावना छ । अहिले पनि ताराखोलाबाट आलु, भाँगो, च्याउ, अल्लोका कपडा, ‘स्लेट’ ढुङ्गा, नेपाली हाते कागज, काठ, जडीबुटीलगायत कृषि उपज र वनजन्य वस्तु बाहिर निर्यात हुन्छ ।

निकासी करबाट गाउँपालिकाले आम्दानीसमेत गर्छ । ‘स्लेट’ ढुङ्गा खानीमा सयौँ श्रमिकले रोजगारी पाएका छन् । खानीलाई कानूनी दायरामा ल्याउन गाउँपालिकाले ऐन नै बनाएको छ । ताराखोलाको ‘स्लेट’ ढुङ्गा पोखरा, काठमाडौँलगायतका शहरमा पुग्छ ।

त्यहाँको मुख्य कृषि बाली आलु र भाँडो हो जुन बजारमा महङ्गोमा बिक्री हुन्छ । कतिपय परिवारको जीविका नै आलुमा निर्भर छ । गाउँपालिकाकै अग्रसरतामा ६०० किसान फलफूल खेतीमा लागेका छन् । सरकारले घोषणा गरेको ‘फलफूल दशक’ कार्यक्रमअन्तर्गत किसानले फुलफूलमा अनुदान पाएका थिए ।

गाउँपालिकाका अनुसार किसानले विभिन्न ठाउँमा गरी छ हजार ८०० ओखर, एक हजार ६०० किवी र ५०० बदामका बिरुवा लगाएका हुन् । “कृषिजन्य उत्पादनमार्फत किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ”, गाउँपालिकाको आर्थिक विकास शाखा प्रमुख चिन्तामणि शर्माले बताउनुभयो ।

बाँझो जग्गालाई भूमि बैंकको अवधारणामा एकीकृत गरी व्यावसायिक कृषि खेतीलाई विस्तार गर्ने योजना गाउँपालिकासँग छ । खाली रहेका खेतीयोग्य जमिन निश्चित समयका लागि गाउँपालिकाले लिने र कृषि उत्पादनका लागि व्यावसायिक किसानलाई दिने गरी कार्यविधि बनाउन लागिएको छ ।

एकीकृत नमूना कृषि ‘फार्म’का लागि सङ्घीय सरकारबाट गत आवमा आएको रु दुई करोड बजेटबाट व्यावसायिक कषि तथा पशुपक्षी ‘फार्म’ छनोट गरी अनुदान वितरण गरिएको छ । स्थानीय स्रोत साधनमा आधारित उद्यम विकास, रोजगारी प्रवद्र्धन र उत्पादनमा आत्मनिर्भर गाउँपालिका बनाएरै छाड्ने जनप्रतिनिधिको अठोट छ ।

अनेक संस्कृति

भनिन्छ, ३६५ दिनमा १४५ दिन ताराखोलामा मेला, पर्व चल्छन् । ऐतिहासिक भुस पोल्ने, सिस्नो खोस्ने पर्व, असारे, भदोरैलगायतका पर्व, परम्परा त्यहाँ प्रचलित छन् । रैथाने मगर समुदायले सयौँ वर्ष पुरानो संस्कृतिलाई धान्दै आएका छन् । पन्धौँ शताब्दीतिर पाल्पाको अर्गलीबाट आएका मगरका पुर्खाहरु वडा नं १ अर्गल र डोल्पाको भोटबाट आएकाहरु वडा नं ४ को तारागाउँमा बसोबास गरेको पाइन्छ ।

बास र खेती लगाउने ठाउँको खोजीमा आएका पुर्खाहरुले ताराखोला क्षेत्रमा खोरिया खनेर थातथलो बसाएको मगर भाषा तथा संस्कृति संवद्र्धन समितिका सचिव बिर्बलाल घर्तीमगरले बताउनुभयो । स्थानीय संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्नेमा उहाँको जोड छ । ताराखोलाको विविधतालाई समग्र विकासको सूत्रमा ढाल्न सकेमा समृद्धि टाढा नरहेकामा जनप्रतिनिधि पनि सहमत छन् ।

हिजो राजनीतिक आन्दोलनमा पु¥याएको योगदानको हिस्सेदारी ताराखोलाले जति पाएको छ त्यही तुलनामा जनतालाई न्यायोचित विकास र सेवाको प्रत्याभूति दिलाउनु जरुरी छ । सशस्त्र युद्धदेखि शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको जगबाट प्राप्त सङ्घीय शासन व्यवस्थामा समृद्धि प्राप्तिका लागि ताराखोलाले लिएको पहलकदमी आशप्रद छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा