७ मंसिर २०८१, शुक्रबार

थामियो बजारको पहिरो, नेप्सेमा केहि सुधार


Bullish trend share-market

२९ फागुन, काठमाण्डौ । सेयर बजार घटेर बर्षकै न्यून विन्दूमा झरेको बेला सस्तो दरमा राम्रा कम्पनीको सेयर खरीद गर्नेहरु सलबलाएका कारण मंगलबार बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ४.८९ अंकले बढी १२८१.९० विन्दू कायम भएको छ ।

मंगलबार केही खरीद चाप परेकै कारण बजार परिसूचकमा झिनो बढोत्तरी देखिएको विश्लेषकहरुले बताएका छन् । बजारमा सामान्य बढोत्तरी भए पनि कारोबार रकम न्यून रहेकोले बजार आगामी दिनमा निरन्तर बढ्नेछ भन्ने अवस्था नरहेको बजारका जानकार बताउँछन् ।

मंगलबार लगानीकर्ताहरुले ‘क’ वर्गका कम्पनीको सेयर खरिदमा मन लगाएका कारण सेन्सेटिभ इण्डेक्स १.३ अंकले बढेको छ । यस्तै समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि ०.३५ अंकको बढोत्तरी भएको छ ।

आज बिमा, माइक्रोफाइनान्स र उत्पादनमूलक समूहको सूचक घटेको छ । बिमा समूह १०.६८, माइक्रोफाइनान्स ४.२९ र उत्पानमूलक ३२.६५ अंकले घटे ।

बाँकी सबै समूहको सूचक बढे । बैकिंग समूह ५.७१ अंकले बढेको छ भने विकास बैंक र बित्त समूह क्रमशः १.४५ र ३.१९ अंकले बढेका छन् । यस्तै, होटल समूह ६१.५४, जलविद्युत समूह ९.३९ र अन्य समूह ७.१२ अंकले बढेका छन् ।

आज बजारमा १५६ कम्पनीका ५ लाख ५५ हजार ७ सय २२ कित्ता सेयर २३ करोड ७० लाख ३० हजार ३ सय ८७ रुपैयाँमा किनबेच भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै २ करोड २१ लाख बढीको कारोबार गर्यो । यस्तै, नवील बैंकले १ करोड ५२ लाख, युनिलिभर नेपाल लिमीटेडले १ करोड ३१ लाख, एभरेष्ट बैंकले १ करोड १३ लाख, नागरिक लगानीकोषले ७९ लाख, इन्भेष्टमेन्ट बैंकले ७८ लाख, सानिमा बैंकले ६८ लाख, राष्टिय बिमा कम्पनी लिमीटेडले ६३ लाख, हिमालयन बैंकले ५९ लाख र जनता बैंक नेपालले ५७ लाख बढीको कारोबार गरे ।

आज श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ७.१४ प्रतिशतले बढ्यो । तेस्तै अरुण फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ४.८२ प्रतिशतले घट्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !