१३ आश्विन २०८१, आइतबार

प्रदेश तहमा कोभिड-१९ युनिफाइड अस्पताल तोक्ने सरकारको तयारी


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा ‘कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरेको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) ले प्रदेशमा सञ्चालन भइरहेका अस्पताललाई ‘कोभिड-१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरिएको छ ।

केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारीमा डा. जागेश्वर गौतमले प्रदेशस्तरमा अहिले सञ्चालन भइरहेका सङ्घअन्तर्गत अस्पतालाई नै युनिफाइड प्रादेशिक अस्पताल बनाउने तयारी भइरहेको जानकारी दिए । ती अस्पतालले कोभिड-१९ सँगै अन्य बिरामीको पनि उपचार गर्न सक्ने छन् ।

केन्द्रीय अस्पतालले नै प्रदेश सरकारसँग समन्वय गरी प्रदेशस्थित सङ्घ वा प्रादेशिक अस्पतालाई कोभिड-१९ युनिफाइड प्रादेशिक अस्पतालको रुपमा तोक्ने सक्ने व्यवस्था रहेको छ ।

उनका अनुसार प्रदेश-१ मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश-२ जनकपुर प्रादेशिक अस्पताल वा नारायणी अस्पताल वीरगञ्ज, वागमती प्रदेशमा भरतपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी प्रादेशिक अस्पताल, कर्णाली प्रदेशमा कर्णाली प्रादेशिक अस्पताल र सुदुरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताललाई युनिफाइड अस्पताल बनाउन सकिन्छ ।

उनले यी अस्पताललाई युनिफाइड प्रादेशिक अस्पताल तोक्ने विषयमा मन्त्रालय र प्रदेश सरकारसँग छलफल भइरहेको बताए । सरकारले कोभिड–१९ सङ्क्रमितको निदान र उपचारको काम एकीकृतरुपमा सञ्चालन र व्यवस्थापन गर्न केन्द्र र प्रदेशमा छुट्टाछुट्टै युनिफाइड अस्पताल सञ्चालनमा ल्याइने निर्णय गरेको थियो ।

वीर अस्पताल पूर्ण रूपमा सञ्चालन

प्रमुख प्रशासकीय अधिकारीमा डा. गौतमले केन्द्रीय युनिफाइड अस्पतालमा ५०० शय्या सञ्चालन पूरा तयारी गरिएको जानकारी दिए । उनले तरल अक्जिसन प्लान्ट र दुई वटा अक्सिजन प्लान्ट जडान गरिसकेपछि अस्पताललाई पूर्णरूपमा सञ्चालन गरिने बताए ।

उनका अनुसार आगामी विहीबारसम्म अक्सिजन प्लान्ट आइपुग्ने छ । अहिले वीरले अक्सिजन सिलिण्डरबाट बिरामीको उपचार गरिरहेको छ ।अहिले केन्द्रीय युनिफाइड अस्पतालमा १३० जना सङ्क्रमितको उपचार भइरहेको छ ।

वीरको ५०० शय्याको नयाँ सर्जिकल भवनमा नै उक्त अस्पताल सञ्चालन हुने छ । यही जेठ ६ गते कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश–२०७८ मार्फत सरकारले वीरलाई युनिफाइड केन्द्रीय अस्पतालको रूपमा सञ्चालन ल्याउने निर्णय गरेको थियो ।

युनिफाइड अस्पतालले सङ्क्रमितको उपचार व्यवस्थापन (अक्सिजन आइसोलेसन, हाइ डिपिडेन्सी (एचडियु) र सघन उपचार कक्ष ( आइसियु) को व्यवस्थापन, टेलिमेडिसिन कल सेन्टर, होम आइसोलेशन फलोअप, एम्बुलेन्स, आकस्मिक सेवाको साथै शय्या खाली भएका स्वास्थ्य संस्थामा सङ्क्रमितको भर्नाका लागि आवश्यक समन्वय पनि गर्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !