९ मंसिर २०८१, आइतबार

स्थानीय सरकारको कार्य सञ्चालन तथा व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि तालिम सम्पन्न


निषेधाज्ञा

नेपालगञ्ज । प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्ज बाँकेको आयोजनामा भर्चुअल विधिमार्फत सञ्चालित पाँच दिने ‘स्थानीय सरकारको कार्य सञ्चालन तथा व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि’ विषयक तालिम सम्पन्न भएको छ । लुम्बिनी प्रदेशअन्तर्गत बाँके र बर्दियाका स्थानीय तहहरूमा कार्यरत नयाँ कर्मचारीको पहिलो चरणमा ४२ जनाका लागि तालिम सञ्चालन गरिएको हो ।

सरकारी सेवामा नवप्रवेशीका रूपमा कार्यरत सहायकस्तर कर्मचारीहरुको क्षमता अभिवृद्धिले कार्यसम्पादनमा सुधार ल्याई स्थानीय तहले प्रवाह गर्ने सेवाहरुमा सकारात्मक परिवर्तन आउने विश्वासका साथ तालिमको आयोजना गरिएको प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक मोतिप्रसाद शर्माले बताउनुभयो ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको सहयोगमा सम्पन्न सो तालिम कार्यक्रममा दिशानिर्देश गर्दै कार्यकारी निर्देशक शर्माले प्रदेश प्रशिक्षण प्रतिष्ठान र स्थानीय तहको क्षमता वृद्धिमा प्रतिष्ठानको भूमिकाको बारेमा पनि प्रष्ट्याउनुभएको थियो । कोभिड–१९ को महामारीका कारण भर्चुअल माध्यमबाट तालिम गर्नुको विकल्प नरहे पनि आगामी दिनमा अझ प्रभावकारी ढङ्गले कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ थियो ।

उहाँले नागरिकको सबै प्रकारका समस्या सम्बोधनको पहिलो संयन्त्र स्थानीय सरकार हुने र नागरिकलाई दिने सेवा प्रभावले पूरै राज्य संयन्त्रले जस वा अपजसको भागीदार हुनुपर्ने हुनाले स्थानीय तहका कर्मचारी सजग हुनुपर्ने बताउनुभयो ।

यही जेठ २५ गतेदेखि चलेको प्रशिक्षणमा विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा क्रियाशील, स्थानीय तहका बारेमा राम्रो ज्ञान भएका विषय विज्ञले प्रदेश प्रशिक्षण प्रतिष्ठानले तयार पारेको पाठ्यक्रममा आधारित भएर सत्र चलाइएको सो प्रतिष्ठानका पाठ्यक्रम विकास विज्ञ विष्णु न्यौपानेले जानकारी दिनुभयो । प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र र शैक्षिक सामाग्री सम्बन्धित स्थानीय तहमा पुगेर हस्तान्तरण गरिने तालिम संयोजक टेक नारायण ढकालले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !