२० बैशाख २०८१, बिहिबार

नेपाललाई कोरोना खोप उपलब्ध गराउने अमेरिकाको घोषणा


नेपाल र अमेरिका

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमा आज राती लेख्दै सोको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपतिलाई खोप उपलब्ध गराएकोप्रति आभार व्यक्त गरेका छन् । अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको हो ।

गतसाता मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जोइ बाइडेनलाई पत्र पठाएर नेपाललाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन अनुरोध गरेकी थिइन् ।

अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने भएतापनि कति डोज दिने भन्ने बारेमा अहिलेसम्म खुलेको छैन । नेपालले प्राप्त गर्ने खोपको परिमाण भने केही समयमै टुंगो लाग्ने जनाइएको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा नेपालसहितका १६ एसियाली मुलुकलाई झन्डै ७० लाख डोज खोप दिने भन्ने उल्लेख छ । नेपालले कति परिमाणमा खोप प्राप्त गर्नेछ भन्ने कुरा उल्लेख छैन ।

ह्वाइट हाउसको पत्रमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस्, पपुवा न्यूगिनी, ताइवान र प्यासिफिक आइल्यान्डले खोप प्राप्त गर्ने उल्लेख छ ।

अमेरिकाले नेपाल, भारतसहितका १६ एसियाली मुलुकलाई ७ मिलियन डोज, दक्षिण तथा मध्य अमेरिकी मुलुकको लागि ६ मिलियन, अफ्रिकी मुलुकको लागि ५ मिलियन खोप वितरण गर्ने जनाएको छ । अमेरिकाले आफूसँग स्टकमा रहेको आस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोर्डना खोप वितरण गर्न लागेको हो ।

 

Biden-Harris Administration Unveils Strategy for Global Vaccine Sharing, Announcing Allocation Plan for the First 25 Million Doses to be Shared Globally


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !