७ मंसिर २०८१, शुक्रबार

अक्सिजन कन्सन्ट्रेटरका लागि सहयोग


अक्सिजन प्लान्ट स्थापना अभियान फाइल फोटो

वालिङ । वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरिएको आइसोलेशनमा कन्सन्ट्रेटर आपूर्तिका लागि आर्थिक सहयोग जुटेको छ । वालिङ नगरपालिकाको समन्वयमा विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूमार्फत अक्सिजन कन्सन्ट्रेटर खरीदका लागि १० लाखभन्दा बढी सहयोग जुटेको हो ।

वालिङ नगरपालिकाले निर्माण गरेको आइसोलेशनमा प्रयोग गर्नका लागि इच्छुक ब्यक्ति तथा सङ्घसंस्थाहरूसँग आवश्यक स्वास्थ्य सामग्री सहयोगका लागि आह्वान गरेसँगै सहयोग आउने क्रम जारी रहेको नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिनुभयो ।

“अस्पतालमा ३५ श्यया क्षमताको अक्सिजन सिलिण्डरसहित सुविधासम्पन्न आइसोलेशन सञ्चालनमा ल्याएका छौँ”, नगरप्रमुख खाँणले भन्नुभयो, “अक्सिजन सिलिण्डर भर्नका लागि पोखरा लैजान ल्याउन झन्झट हुने, समय लाग्ने र पछि पर्याप्त मात्रामा उपलब्ध नहुन पनि सक्ने सम्भावना भएकाले दश थान विद्युतीय अक्सिजन कन्सन्ट्रेटर खरीद गरेका हौँ ।” आइसोलेशनमा प्रयोग गर्नका लागि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाहरूले अस्पतालको खातामा वा नगरपालिका कार्यालयमा आएर चेक तथा नगद हस्तान्तरण गर्दै आउनुभएको नगरप्रमुख खाँणले बताउनुभयो ।

कोरोना महामारीको हटस्पटका रूपमा रहेको वालिङमा नागरिकस्तरबाट स्वास्थ्यसम्बन्धी उपकरणहरू उपलब्ध गराएर नगरपालिका तथा स्वास्थ्यकर्मीहरूलाई गरेको सहयोगप्रति नगरप्रमुख खाँणले आभार व्यक्त गर्नुभयो । “विभिन्न दाताहरूले उपलब्ध गराउनुभएको सहयोग रकमबाट अक्सिजन कन्सन्ट्रेटर खरीद गरिसकेका छौँ”, प्रमुख खाँणले भन्नुभयो, “खरीद गरिएको सामान बुधबारसम्ममा वालिङ आइपुग्छ ।” अक्सिजन कन्सन्ट्रेटर खरीदका लागि व्यक्ति तथा सङ्घसंस्थाबाट आजसम्म दश लाखभन्दा बढी रकम सङ्कलन भइसकेको नगरप्रमुख खाँणले बताउनुभयो । भ्याटसहित प्रतिथान रु ७० हजारमा खरीद गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !