६ बैशाख २०८१, बिहिबार

नारायणीकलीले जन्मायो छावा


छावा

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रमा रहेको हात्तीले छावा जन्माएको छ ।

प्रजनन केन्द्रमा रहेको नारायणीकली हात्तीले आज बिहान २ः०० बजे छावा जन्माएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । सुत्केरी हात्ती र उनको छावा (भाले)को अवस्था स्वस्थ तथा स्फूर्त रहेको अधिकारीले बताउनुभयो । सुत्केरी हात्तीको स्याहारका लागि तीन जना हात्तीसार कर्मचारी खटाइएको उहाँले सुनाउनुभयो ।

नारायणीकली निकुन्जकै बगाई माडी सेक्टर कार्यालय माडीमा खटिएको बेला गर्भवती भएकाले उनलाई कामकाजबाट फिर्ता गरी खोरसोर प्रजनन् केन्द्रमा राखेर स्याहार सुसार गरिँदै आएको अधिकारीले बताउनुभयो । नारायणीकलीले यसअघि माडीगज र लक्कीगज नामका दुई हात्तीलाई जन्म दिइसकेकी छिन् । ती दुवै हात्ती भर्खरै सम्पन्न राष्ट्रिय गैँडा गणना २०७७ मा समेत सहभागी भएका निकुञ्जले जनाएको छ ।

खोरसोरमा यो नवजात छावा हात्तीसँगै १० बच्चा हात्ती पुगेका छन् । नवजात छावासहित चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको कुल सङ्ख्या ५१ तथा कोशीटप्पु वन्यजन्तु आरक्षबाट कामकाजमा खटिएका छ गरी जम्मा ५७ हात्ती पुगेका अधिकारीले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !