१५ आश्विन २०८१, मंगलबार

बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँशी


मौन स्नान File Photo

काठमाडौँ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी मौन स्नान गरी मनाइएको छ । आज बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । आज परेको सोमबारे औँशी यस वर्षको दोस्रो सोमबारे औँशी हो । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम वर्षमा दुईदेखि तीनपटकसम्म सोमबारे औँशी पर्ने गरेको बताउनुहुन्छ ।

विसं २०७७ मा पनि गत साउन ५ गते सोमबारे औँशी परेको थियो । आगामी चैत ३० गते पनि सोमबारे औँशी रहेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख रहेको तोयनाथ पन्तको पञ्चाङ्ग (पात्रो) का सम्पादक सूर्यनाथ पन्तले राससलाई जानकारी दिनुभयो ।

सोमबारे औँशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने र अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले बताउनुभयो । औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीयरुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक परम्परा रही आएको छ ।

माता, पिता नहुनेले भने औँशी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन् । यसका लागि पनि सोमबार परेको औँशी विशेषरुपमा मानिने गरेको धर्मशास्त्रविद् गौतमले जानकारीदिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !