८ बैशाख २०८१, शनिबार

श्रवणदृष्टिविहीन अपाङ्गता भएकालाई सक्षम बनाइँदै


अन्धोपन

विराटनगर, ३१ भदौ । श्रवणदृष्टिविहीन अपाङ्गता भएका व्यक्तिले आफ्नो काम आफैँ गर्न सक्षम बनाउनका लागि उनीहरुलाई सिकाइ कार्य सञ्चालन भएको छ ।

कोशी बहिरा सङ्घले सञ्चारकर्मीलाई जानकारी दिन आज यहाँ आयोजित कार्यक्रममा मोरङमा तीनवर्षे परियोजनाअन्तर्गत सन् २०१९ देखिको कार्य गत वर्ष जिल्लामा तीन महिलासहित ११ जनालाई विभिन्न सिकाइलगायत सेवा उपलब्ध गराइएको जानकारी दिइयो ।

श्रवणदृष्टिविहीन २० वर्ष उमेर समूहका लागि विभिन्न सुविधा उपलब्ध गराउनुका साथै फिजियोथेरापी, घरमा दैनिक जीवनमा आवश्यक पर्ने कार्य गर्ने सम्बन्धका सिकाइलगायतका अन्य सेवा र सुविधा रहेको परियोजनाका संयोजक प्रशान्त दुलालले बताउनुभयो । सङ्घका अध्यक्ष सुनिता तिवारीले आफ्नो गाउँघर, टोल, छिमेकमा यस्ता श्रवणदृष्टिविहीन व्यक्ति भए सङ्घलाई जानकारी गराइ उनीहरुलाई जीवनोपयोगी कार्य सिक्ने अवस्था सिर्जना गर्न आग्रह गर्नुभयो ।

सङ्घले राष्ट्रिय बहिरा महासङ्घको सहयोगमा कार्य सञ्चालन गरिरहेको छ भने यस वर्ष थप १० जनालाई सेवा उपलब्ध गराउने सङ्घका कोषाध्यक्ष जीवन दाहालले जानकारी दिनुभयो । विसं २०६८ को जनगणनाअनुसार मोरङमा १०६ महिलासहित २५४ श्रवणदृष्टिविहीन अपाङ्गता भएका व्यक्ति छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !