१२ आश्विन २०८१, शनिबार

कवाडी डिपोमा चामलको कमी


चामल

बाजुरा, ३२ जेठ । जिल्लाको हिमाली गाउँपालिकालाई लक्षित गरेर सञ्चालित कवाडी डिपो बिक्री केन्द्रमा चामलको कमी देखिएको छ । बिक्री केन्द्रमा ढुवानी गरिएका चामल बिक्री भएर सकिएसँगै चामलको कमी देखिएको हो । कोल्टी डिपोले चामल बिक्री गर्न छाडेपछि र मागअनुसार चामलको कोटा सकिएपछि चामलको अभाव देखिएको डिपोले बताएको छ तर डिपोमा चामलको कमी हुनेबित्तिकै खाद्यान्नकै अभाव नभएको बताइएको छ ।

गाउँपालिकाले खाद्यान्न राहतकै लागि एकमुष्ट चामल उठाएपछि मौज्दातको मात्रा सकिए पनि सर्वसाधारणलाई अभाव नभएको बताइएको छ । राहतस्वरुप चामल पनि पाएको र थप गहुँसमेत भित्र्याएकाले खाद्य सङ्कलन भने नभएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो ।

सबै चामल स्थानीय तहले राहतका लागि खरिद गरेर वितरण गरेपछि दुई सातादेखि चामलको कमी देखिएको डिपोले बताएको छ । गएको वर्षमा कवाडी डिपोमा तीन हजार ५०० क्विन्टल चामलको कोटा थियो । त्यो मध्ये दुई हजार १०० क्विन्टल बिक्री भइसकेको र बाँकी ढुवानी भइरहेकाले असारसम्म कुनै समस्या नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुरा शाखाका प्रमुख मेखराज ओझाले बताउनुभयो । बाहिर सर्वसाधारणले जति हल्ला गरे पनि चामलको अभाव नै नभइसकेको, अहिले चामल ढुवानी भइरहेको र बिक्री मात्र केही दिनका लागि रोकिएकाले खाद्य अभाव नभएको ओझाको भनाइ छ ।

राहतसँगै गहुँबालीसमेत भित्र्याएको समय भएकाले खाद्य अभाव हुने र चामल नहुँदा हाहाकार नै हुने अवस्था नभएको खाद्य अधिकारका जानकारले बताउने गरेका छन् । क्वारेन्टिनका लागि पनि ठूलो मात्रामा चामल खरिद गरिएपछि डिपोमा कम भए पनि तत्काल ढुवानी हुने शाखाले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !