नयाँदिल्ली, वैशाख २७ । भारत सरकारले शुक्रबार उद्घाटन गरिएको सडक आफ्नै भूमिमा निर्माण गरिएको दाबी गरेको छ । लिपुलेकमा नयाँ सडक उद्घाटनपछि देखिएको विवादबारे भारतले औपचारिक धारणा बाहिर ल्याएको हो ।
भारतको विदेश मन्त्रालयका विशेष प्रवक्ताले शनिबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘९ मेइ २०२० मा नेपालको परराष्ट्र मन्त्रालयले भारतमा सडक उद्घाटनसँग सम्बन्धित रहेको जारी गरेको विज्ञप्ति हामीलाई प्राप्त भएको छ ।
भर्खरै उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा उद्घाटन भएको सडक सम्पूर्ण रुपमा भारतीय भूभागमा पर्ने यो रुट कैलाश मानसरोवर जाने धर्मालम्बीले प्रयोग गर्दै आएकोमा वर्तमान परियोजना अन्तर्गत सोही रोडलाई दर्शनार्थी, स्थानीय र व्यापारीलाई सहज हुनेगरी बनाइएको हो ।
विज्ञप्तिमा सीमानाका विषयमा छलफल गर्न नेपाल र भारतले संयन्त्र स्थापना गरेको र सीमाका विषयमा छलफल चलिरहेको उल्लेख छ । त्यस्तै, सीमा विवादलाई कुटनीतिक संवादबाट टुंग्याउन भारत प्रतिवद्ध रहेको पनि उल्लेख छ । त्यस्तै, विदेश सचिवस्तरीय संवादको समय निर्धारण गर्ने विषय प्रतिक्रयामै र दुबै देशले कोभीड–१९ को चुनौती सामना गरेपछि छलफलको मिति तय गरिने विज्ञप्तिमा उल्लेख छ ।
यसअघि नेपालको परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमिमा गर्दै आइरहेको गतिविधि रोक्नको लागि आग्रह गरेको थियो । परराष्ट्रले भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर शुक्रबार उद्घाटन गरेको कुरा खेदका साथ थाहा हुन आएको बताएको थियो ।
दार्चुलाको लिपुलेक हुँदै तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्गको शुक्रबार दिउँसो भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्समार्फत् उद्घाटन गरेका थिए । भारतले एकतर्फीमा रुपमा नेपाली भूमि हुँदै सडक बनाएको समाचार प्रकाशित भएसँगै नेपालमा भारतीय अतिक्रमणविरुद्ध व्यापक विरोध भइरहेको छ ।
यो पनि पढ्नुहोस्
भारतले लिपुलेक हुँदै सडक बनाएकोमा नेपाल सरकारको गम्भीर आपत्ति