नयाँदिल्ली, १८ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अर्को जीवनचित्र सार्वजनिक गरिएको छ । उहाँको बाल्यकालदेखिका तस्वीरहरुको संग्रहसहितको जीवनचित्र पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो ।
उहाँले भारतको प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकालको पहिलो बर्ष पुरा गरेको दिन पारेर पूर्व प्रधानन्यायाधीश के जी बालकृष्णन् मार्फत् यो पुस्तक सार्वजनिक गरिएको हो ।
कोरोनाभाइरसको सङ्क्रमण फैलिने डर भएपछि भारतमा देशभरी लकडाउन लागु गरिएकाले अनलाईन मार्फत् सार्वजनिकीकरण कार्यक्रम गरिएको थियो ।
पुस्तकमा मोटो गाता र इ—बुक गरी दुई स्वरुपमा उपलब्ध छ भने २० ओटा भाषामा बनाइएको छ । तीमध्ये दश ओटा विदेशी भाषा र दश ओटा भारत भित्रका भाषा रहेका छन् ।
लेखकले दिएको जानकारी अनुसार पुस्तक प्रकाशित भएका विदेशी दश भाषामा अंग्रेजी, अरबी, डच, फ्रान्सेली, इटालेली, जापानी, मन्डारिन, रुसी र स्पेनी रहेका छन् ।
त्यसैगरी भारत भित्रका हिन्दी, आसामी, बंगाली, गुजराती, कन्नाडा, मराठी, पञ्जावी, तमिल, तेलगु र उर्दु भाषामा पनि सो पुस्तक बनाइएको छ ।