१२ असार २०८१, बुधबार

चीनमा थप १७ जना कोरोना सङ्क्रमित, उहानमा परीक्षण अभियान


चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५९२

बेइजिङ, ४ जेठ । चीनमा कोरोना भाइरसबाट थप १७ जना सङ्क्रमित भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरु थपिने क्रम नरोकिएपछि उहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ ।

कोरोना भाइरसको उद्गमस्थल समेत मानिने उहानमा केही समय यसको सङ्क्रमण रोकिएको बताइए पनि अहिले फेरि दिनप्रतिदिन सङ्क्रमित हुनेहरुको संख्या थपिदै गएको छ । सरकारी अधिकारीहरुले अहिलेसम्म उहानका मात्रै झण्डै एक करोड दशलाख मानिसमा कोरोना भाइरसको सङ्क्रमण भए नभएको बारेमा स्वास्थ्य परीक्षण गरिएको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले देशको जिलिन प्रान्तमा पनि शनिबार थप पाँच जना सङ्क्रमित भेटिएको जनाएको छ । उनीहरुमध्ये तीन जनालाई स्थानीय सङ्क्रमण भएको आयोगले आइतबार उल्लेख गरेको छ ।

कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या बढ्दै जान थालेपछि जिलिन शहरमा यसै हप्तादेखि लकडाउन लागु गरिएको छ । शनिबार थपिएकासँगै चीनमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल संख्या ८२ हजार ९४७ पुगेको छ ।

स्वास्थ्य अधिकारीहरुका अनुसार कुल सङ्क्रमितमध्ये अहिले पनि उपचाररत अवस्थामा ८६ जना छन् भने अरु ७८ हजार २२७ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । चीनमा कोरोना भाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म चार हजार ६३४ जनाको मृत्यु भएको छ ।

चीनमा गत डिसेम्बरको अन्तिम साता पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । त्यही सङ्क्रमण फैलिदै गएर अहिले संसारभरी पुगेको विश्वास गरिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !